२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

फिलिपिन्समा टाइफुन 'कलमेगी' : १४० जनाको मृत्यु, सय बेपत्ता

बिहिवार , कार्तिक २०, २०८२

 

लिलोन (फिलिपिन्स), कात्तिक । मध्य फिलिपिन्समा आएको विनाशकारी टाइफुन कलमेगी ले कम्तीमा १४० जनाको ज्यान लिएको छ भने १२७ जना अझै बेपत्ता रहेको पुष्टि गरिएको छ । देशका विभिन्न भागमा आएको अभूतपूर्व बाढी र भूस्खलनका कारण ठूलो जनधनको क्षति भएको छ । यसैबीच, यो आँधी हाल भियतनामतर्फ अगाडि बढिरहेको छ ।

विपद् डेटाबेस इएम डाटका अनुसार कलमेगी सन् २०२५ को अहिलेसम्मको सबैभन्दा घातक टाइफुन बनेको छ । गत वर्ष फिलिपिन्समै आएको ट्रामी तेस्रो सबैभन्दा घातक टाइफुन थियो, जसले १९१ जनाको ज्यान लिएको थियो । यसपटक, सेबु प्रान्तका सहरहरूमा आएको अभूतपूर्व बाढीले नदी किनारका झुपडीदेखि सवारीसाधन र ठूला ढुवानी कन्टेनरहरूसम्म बगाएको छ ।

बाढीका कारण जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ । राष्ट्रिय नागरिक सुरक्षा कार्यालयका अनुसार बिहीबारसम्म ११४ जनाको मृत्यु पुष्टि गरिएको थियो, तर सेबु प्रान्तका अधिकारीहरूले थप २८ जनाको मृत्यु दर्ता गरेपछि कुल सङ्ख्या १४० पुगेको छ । सेबु सहर नजिकैको लिलोन सहरमा मात्र ३५ वटा शव प्राप्त भएको छ ।

एएफपीका प्रत्यक्षदर्शी पत्रकारहरूले बाढीले कारहरू एक-अर्काको माथि थुप्रिएको, घरका छत भत्किएका र बासिन्दाहरूले माटो र भग्नावशेषबाट आफ्ना प्रियजनलाई खोज्ने हतास प्रयास गरिरहेको दृश्य देखेका छन् । स्थानीय बासिन्दा क्रिस्टिन एटोनले आफ्नी अपाङ्ग बहिनी मिशेललाई बाढीको पानीले बगाउँदा बचाउन नसकेको दुःखद अनुभव सुनाए ।

हामीले ढोका फुटाउन भान्साको चक्कु र क्रोबार प्रयोग गर्यौँ तर त्यसले काम गरेन । फ्रिज बग्न थाल्यो । म र मेरा बुबा तैरेर बाहिर निस्क्यौँ तर मेरी बहिनी फँसिन्, आँखा रसाउँदै उनले भने, बुबाले भने, यदि हामी फर्क्यौं भने हामी सबै मर्छौं । अर्का बासिन्दा, दुई सन्तानका पिता चिरोस रोआले भने, हाम्रो कुकुरको भोको आवाजले हामीलाई बचायो ।

पानी घरमा पस्दा हामी छतमा पुगेका थियौँ । तर उद्धारका लागि बोलाउँदा कोही पनि आएनन्ह मीले सुनेका थियौँ, केही उद्धारकर्ताहरू करेन्टमा परेका रहेछन् । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रिय विपत्तिको अवस्था घोषणा गर्दै राहतका लागि सरकारी कोष खोल्ने तथा आवश्यक सामग्रीहरूको मूल्यमा सीमा तोक्ने आदेश दिएका छन ।

राज्य मौसम विज्ञ बेनिसन एस्टारेजाले भने, “कलमेगीले सेबुमा सामान्यतया नोभेम्बर महिनामा पर्ने वर्षाको भन्दा १.५ गुणा बढी पानी पर्यो । यस्तो घटना करिब हरेक २० वर्षमा एकपटक मात्र देखिन्छ । उनका अनुसार सेबुको अत्यधिक सहरीकरणले बाढीको क्षति अझै भयावह बनाएको हो ।

स्थानीय व्यापारी रेनाल्डो भर्गाराले भने, बिहान ४-५ बजेतिर पानीको बहाव यति शक्तिशाली थियो कि बाहिर निस्कनै सकिँदैनथ्यो । मैले यस्तो दृश्य जीवनमा कहिल्यै देखेको थिइनँ उनको पसल पूर्ण रूपमा नष्ट भएको छ । प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले एक रेडियो अन्तर्वार्तामा अवस्थालाई अभूतपूर्वभन्दै जनतालाई उच्च सतर्क रहन आग्रह गरे ।

वैज्ञानिकहरूका अनुसार मानवसिर्जित जलवायु परिवर्तनका कारण हालका टाइफुनहरू अझ शक्तिशाली र विनाशकारी बन्दै गएका छन् । तातो महासागरहरूले आँधीलाई द्रुत रूपमा बलियो बनाउँछन् र तातो वायुमण्डलले बढी आद्र्रता राख्ने भएकाले वर्षा असामान्य रूपमा तीव्र हुन्छ ।

यता, कलमेगी बिहीबार साँझसम्म भियतनामतर्फ बढ्दै गएको छ । टाइफुनको हावाको गति बढ्दै गएको र यसले मध्य भियतनाममा आठ मिटर अग्लो छाल र शक्तिशाली वर्षा ल्याउने अनुमान गरिएको छ । भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्थानीय प्रशासनलाई कलमेगीलाई तत्काल र खतरनाक आपतका रूपमा लिँदै पूर्वतयारीका सम्पूर्ण कदम चाल्न निर्देशन दिए ।

तटीय क्षेत्रका हजारौँ बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न आदेश दिइएको छ । सामान्यतया हरेक वर्ष १० वटा टाइफुन वा उष्णकटिबन्धीय आँधीबेहरीले भियतनाममा प्रत्यक्ष वा अप्रत्यक्ष असर गर्छन्, तर कलमेगी सन् २०२५ को १३औँ टाइफुन हो । फिलिपिन्समा यस वर्ष मात्रै २० वटा आँधीबेहरी आइसकेका छन् । 

राज्य मौसम विज्ञ चार्मेन वारिलाका अनुसार डिसेम्बरको अन्त्यसम्म ‘कम्तीमा तीनदेखि पाँच थप आँधीबेहरी’ आउन सक्ने सम्भावना छ । त्यस्तै, देशको पूर्वी भागमा अझै ट्रपिकल स्टोर्म ‘फङ–वोङ’ सक्रिय छ । 

यसले मुख्य टापु लुजोनतर्फ अघि बढ्दै शक्तिशाली सुपर टाइफुनमा रूपान्तरण हुने चेतावनी दिइएको छ ।  फिलिपिन्स सरकारले राहत, उद्धार र पुनःस्थापनाका कार्यलाई तीव्र पार्दै देशव्यापी सतर्कता आदेश जारी गरेको छ ।  एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार