एयर फोर्स वन, कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटलाई अत्यन्तै सफल भन्दै चीनमाथि लगाइएको कर घटाउने घोषणा गरेका छन ।
उनका अनुसार यस भेटपछि बेइजिङले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात पुनः खोल्ने र अमेरिकी सोयाबिन खरिद सुरु गर्ने सहमति जनाएको छ ।
राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग भने, हामीले यस वर्षको सुरुमा चीनलाई फेन्टानिल उत्पादनमा प्रयोग हुने रसायनहरू बेचेकोमा सजायस्वरूप लगाइएको करलाई २० प्रतिशतबाट १० प्रतिशतमा घटाउँदैछौँ ।
यस कदमपछि चीनमाथिको कुल कर दर ५७ प्रतिशतबाट घटेर ४७ प्रतिशतमा पुगेको उहाँको भनाइ छ । शून्यदेखि १० को मापनमा १० सबैभन्दा राम्रो हो भने म यो बैठकलाई १२ भन्नेछु, राष्ट्रपति ट्रम्पले हाँस्दै भने ।
उनले आगामी अप्रिलमा चीन भ्रमण गर्ने र राष्ट्रपति सी पनि केही समयपछि अमेरिका आउने योजना रहेको बताए । साथै, एनभिडियाले चीनसँग उच्च प्रविधियुक्त कम्प्युटर चिप्स निर्यातबारे छलफल गर्न लागेको जानकारी पनि दिए ।
ट्रम्पले धेरै चाँडै दुई देशबीच व्यापार सम्झौतामा हस्ताक्षर हुन सक्ने विश्वास व्यक्त गरे । हामीबीच अहिले ठूला अवरोधहरू बाँकी छैनन्, उनले भने । तर, दुई मुलुकबीचको दीर्घकालीन प्रतिस्पर्धा भने कायम नै छ ।
विश्वका ठूला दुई अर्थतन्त्रले उत्पादन, कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधि विकास र युक्रेनमा युद्धजस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूमा प्रभाव कायम राख्ने प्रयास गरिरहेका छन् ।
दक्षिण कोरियाको बुसान सहरमा करिब १०० मिनेट लामो वार्तापछि दुवै नेताले तनाव घटाउने र सहकार्य गर्ने प्रतिज्ञा व्यक्त गरे ।
राष्ट्रपति सीले पनि मतभेदका बाबजुद सँगै काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, हाम्रो फरक राष्ट्रिय पृष्ठभूमिका कारण कहिलेकाहीँ दृष्टिकोण फरक हुन सक्छ, तर सहकार्य अपरिहार्य छ ।
बैठकअघि अमेरिकाले चीनमाथि थप १०० प्रतिशत आयात कर लगाउने चेतावनी दिएको थियो । तर, चिनियाँ पक्षले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात नियन्त्रण शिथिल गर्ने र अमेरिकी कृषि उत्पादन खरिद बढाउने सङ्केत देखाएपछि वातावरण केही सहज बनेको थियो ।
उक्त वार्तालाई जी २ बैठक का रूपमा व्याख्या गर्दै राष्ट्रपति ट्रम्पले यसलाई अमेरिका र चीनको विश्व अर्थतन्त्रमा अग्रणी भूमिकाको प्रतीक भने । यो बैठक बुसानस्थित सैन्य परिसरमा सामान्य वातावरणमा सम्पन्न भएको थियो । सामान्य रूपमा बजारले सकारात्मक प्रतिक्रिया दिएको छ ।
अमेरिकी सेयर बजारमा पनि व्यापारिक आशा बढेको देखिएको छ । तर, विश्लेषकहरूले यो प्रगति अस्थायी हुन सक्ने चेतावनी दिएका छन् ।
फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिजका वरिष्ठ निर्देशक क्रेग सिङ्गलटनका अनुसार दुवै देशले अहिलेको सहकार्यलाई अस्थिरता नियन्त्रण गर्ने उपकरणका रूपमा प्रयोग गरिरहेका छन्, प्रतिस्पर्धा भने कायम नै छ । गत वर्षदेखि ट्रम्प प्रशासनले चीनमाथि चरणबद्ध रूपमा नयाँ कर लगाउँदै आएको छ । यसको एक हिस्सा फेन्टानिलसम्बन्धी मुद्दासँग जोडिएको थियो ।
अक्टोबर १० मा चीनले दुर्लभ पृथ्वी निर्यातमा प्रतिबन्ध कडा पारेपछि ट्रम्पले १०० प्रतिशत आयात करको धम्की दिएका थिए । तर हालको सहमतिको परिणामस्वरूप यो दर ४७ प्रतिशतमा झरेको छ, जसलाई उनले तुरुन्तै प्रभावकारी हुने बताए ।
विश्वको अधिकांश दुर्लभ पृथ्वी खनिज उत्पादन र प्रशोधनमा चीनको प्रभुत्व छ । पृथ्वी खनिज लडाकू विमान, विद्युतीय सवारी, रोबोट र उच्च प्रविधिका उपकरण निर्माणका लागि अत्यावश्यक मानिन्छ । अब राष्ट्रपति सी दक्षिण कोरियामा एपिइसी (एपेक) शिखर सम्मेलनका लागि केही दिन बस्नने छन भने राष्ट्रपति ट्रम्प वासिङ्टन फर्कनेछन ।
पूर्व अमेरिकी अधिकारी जे ट्रुसडेलले भने, राष्ट्रपति सीले चीनलाई भरपर्दो साझेदारका रूपमा स्थापित गर्न र कर नीतिबाट असन्तुष्ट मुलुकहरूसँग सम्बन्ध सुदृढ गर्न यो अवसरको उपयोग गर्न चाहनुहुन्छ ।
ट्रम्पसँग व्यापारिक सहमति भएको राष्ट्रपति सीको भनाइ
बेइजिङबाट प्राप्त समाचार अनुसार, चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकासँग आर्थिक तथा व्यापारिक विषयमा सहमति कायम भएको जानकारी दिएका छन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार दक्षिण कोरियाको बुसानमा भएको भेटवार्तापछि चिनियाँ राज्य सञ्चारमाध्यम सिन्ह्वाले सो जानकारी दिएको हो ।
सन् २०१९ पछि पहिलोपटक भएको यो उच्चस्तरीय भेटमा विश्वका दुई ठूला अर्थतन्त्रबीच लामो समयदेखि चल्दै आएको व्यापारिक तनाव अन्त्य गर्न सम्भावित सहमतिको सङ्केत देखिएको छ ।
दुर्लभ खनिज पदार्थदेखि लिएर सोयाबिन र बन्दरगाह शुल्कसम्मका विषयमा चलेको व्यापारिक द्वन्द्वले विगत केही वर्षयता विश्व बजारमा ठूलो अस्थिरता ल्याएको र आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न गरेको थियो ।
भेटवार्तामा राष्ट्रपति सी जिनपिङले दुई देशबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सकारात्मक अन्तरक्रिया हुन आवश्यक रहेको बताएका छन ।
उनले दुवै पक्षका वार्ता टोलीहरूले महत्त्वपूर्ण आर्थिक र व्यापारिक मुद्दाहरूमा गहिरो विचारविमर्श गरी तिनको समाधानका लागि सहमति प्राप्त गरेको’ उल्लेख गरेको उद्धरणमा भनिएको छ । यद्यपि प्राप्त सहमतिका विशिष्ट विवरणहरू सार्वजनिक गरिएको छैन ।
राष्ट्रपति सीले भने, दुवै पक्षका टोलीहरूले सकेसम्म चाँडो अनुगमन कार्यलाई परिष्कृत गरी अन्तिम रूप दिनुपर्छ । सहमतिलाई स्थायी र कार्यान्वयन योग्य बनाउँदै चीन, संयुक्त राज्य अमेरिका तथा विश्व अर्थतन्त्रमा स्थिरता ल्याउने ठोस नतिजा प्रस्तुत गर्नुपर्छ ।
राष्ट्रपति ट्रम्पसँगको यो भेटले अमेरिका चीन व्यापार सम्बन्धमा नयाँ पाना पल्टाउने आशा गरिएको छ । यसको सकारात्मक प्रभाव विश्व अर्थतन्त्रमा पनि पर्ने विश्वास गरिएको छ । एपी-एएफपी