२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अमेरिका - चीन व्यापार सम्झौता

एसियाली सेयर बजारमा उत्साह :' विवाद थप बढ्नबाट जोगियो '

सोमवार , कार्तिक १०, २०८२

अमेरिका - चीन व्यापार सम्झौता

एसियाली सेयर बजारमा उत्साह :' विवाद थप बढ्नबाट जोगियो '

हङकङ, कात्तिक । अमेरिका र चीनबिच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ ।

यो सफलतालाई विश्वको सबैभन्दा ठुलो व्यापार विवाद थप बढ्ने सम्भावनाबाट जोगिएको सङ्केतका रूपमा लिइएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मलेसियामा सम्पन्न वार्तापछि दिएको वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमा थप १०० प्रतिशत भन्सार शुल्क लगाउने योजना अब प्रभावकारी रूपमा टेबलबाट हटाइएको बताए ।

बेसेन्टले एबिसी न्युजसँगको अन्तर्वार्तामा भने, शुल्क हटाइने छ । उनका अनुसार चीनले दुर्लभ पृथ्वी तत्वको निर्यात नियन्त्रण ढिलाइ गर्न र पर्याप्त मात्रामा अमेरिकी सोयाबिन खरिद गर्न सहमति जनाएको छ ।

चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले वार्तालाई स्पष्ट, गहिरो र रचनात्मक बताउँदै भन्सार शुल्क, निर्यात नियन्त्रण र फेन्टानिल नियन्त्रण सहयोगका विषयमा प्रारम्भिक सहमतिमा पुगेको जानकारी दिए ।

यो प्रगतिले राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच यसै हप्ता दक्षिण कोरियामा आयोजना हुने एसिया(प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा हुन लागेको भेटका लागि मार्ग प्रशस्त गरेको छ ।

ट्रम्पको दोस्रो कार्यकालपछि दुई नेताबिच हुने यो पहिलो आमनेसामने भेट हुने छ । टोकियो सेयर बजारले सबैभन्दा बढी वृद्धि देखायो । निक्केई २२५ सूचकाङ्क दुई प्रतिशतभन्दा बढीले उकालो लाग्दै पहिलो पटक ५० हजार अङ्क माथि पुगेको छ ।

प्रधानमन्त्री साने तकाइचीको प्रो(उत्प्रेरक (प्रो-स्टिमुलस) नीति र कमजोर येनले निर्यातमुखी उद्योगलाई बलियो फाइदा पुर्याएको विश्लेषकले बताएका छन् । तकाइचीले यस आर्थिक वर्षमै रक्षा बजेटलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई प्रतिशतमा पुर्याउने घोषणा गर्न भएको छ ।

यो पहिले तय गरिएको समयभन्दा दुई वर्ष अघि हो । एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, निक्केइको यो उछाल कुनै संयोग होइन, यो जापानको आर्थिक पुनर्जागरणको मूल्य-सङ्केत हो । सियोल बजार पनि दुई प्रतिशतभन्दा बढीले उक्लिँदै पहिलो पटक चार हजार अङ्क माथि बन्द भयो ।

टेक कम्पनी सामसुङको सेयर तीन प्रतिशत र चिप निर्माता एसके हाइनिक्सको सेयर पाँच प्रतिशत नजिकले बढ्यो । हङकङ, साङ्घाई, ताइपेई, सिङ्गापुर र सिड्नी बजारमा पनि सकारात्मक कारोबार देखियो, यद्यपि जकार्ता र मनिला बजारमा सानो गिरावट देखियो ।

युरोपेली बजारमा लन्डन र फ्रेङ्कफर्ट लाभका साथ खुले भने पेरिस बजार रातोमा झर्यो । अमेरिकाको हालको मुद्रास्फीति तथ्याङ्कले फेडरल रिजर्भबाट ब्याजदर कटौती हुने अपेक्षालाई बल दिँदा वाल स्ट्रिटमा पनि गत शुक्रबार सकारात्मक बन्द भएको थियो ।

राष्ट्रपति ट्रम्पले क्वालालम्पुरमा पत्रकारसँग भने, “हामी सम्झौतामा पुग्नेमा विश्वस्त छौँ । चीन पनि चाहन्छ, हामी पनि चाहन्छौँ । पेपरस्टोनका विश्लेषक माइकल ब्राउनका अनुसार यो वार्ताले यथास्थितिको पुनः स्थापना र व्यापार युद्धमा अस्थायी युद्धविराम ल्याएको हो, यद्यपि यो केवल वार्ताको रणनीति पनि हुन सक्छ ।

रिपब्लिकन राष्ट्रपति हाल पाँच दिने एसिया भ्रमणमा छन । यसमा मलेसिया, जापान र दक्षिण कोरिया प्रमुख गन्तव्य रहेका छन् । हरेक देशमा व्यापार सम्झौता एजेन्डाको शीर्ष विन्दुमा छन् ।

अमेरिकी तामाको मूल्य पनि व्यापार सम्झौताको आशावादमा वृद्धि भएको छ । यसले विश्वव्यापी मागमा सुधारको सङ्केत गरेको छ । यो उपलब्धि महिनौँदेखि बढ्दै गएको तनावपछि आएको हो ।

गत अक्टोबरमा राष्ट्रपति ट्रम्पले चीनले दुर्लभ पृथ्वी निर्यात नियन्त्रण विस्तार गरेपछि ठूलो कर वृद्धि गर्ने चेतावनी दिएका थिए, जसलाई वासिङ्टनले आर्थिक जबरजस्ती भनेको थियो ।

सम्झौताको प्रारूपअनुसार चीनले दुर्लभ पृथ्वी तत्वको निर्यात प्रतिबन्धलाई कम्तीमा एक वर्षका लागि स्थगित गर्ने र त्यसपछि पुनः समीक्षा गर्ने सहमति जनाएको अर्थमन्त्री बेसेन्टले बताए । एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार