काठमाडौँ, असोज । नेपाल बिहीबार आइसिसी टी- २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्समा स्थान बनाउन सफल भएको छ ।
नेपालले बुधबार राति कुवेतलाई ५८ रनले हराएर विश्वकप पुग्ने अभियानमा सकारात्मक सुरुवात गरेको थियो । समूह 'बी' अन्तर्गत नै जापानले कुवेतलाई पाँच विकेटले हराएपछि नेपाल सुपर सिक्समा पुगेको हो ।
कुवेत लगातार दोस्रो खेलमा पराजित भएपछि जापान पनि सुपर सिक्समा पुगेको छ । चालु छनोट प्रतियोगितामा नौ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा शीर्ष दुई स्थानमा रहने टिम सुपर सिक्समा पुग्ने प्रावधान रहेको छ ।
नेपालले अब शुक्रबार जापानसँग खेल्ने छ । सो खेल जित्ने टिमले दुई अङ्कका साथ सुपर सिक्समा खेल्ने छ । सुपर सिक्समा शीर्ष तीन स्थानमा रहने टिम विश्वकपमा खेल्न योग्य हुने छन् ।
त्यसैले जापानविरुद्धको खेल सुपर सिक्समा नेपालको यात्राको सुरुवात होभन्दा फरक पर्दैन ।
एक दिनअघि ओमानको मकटमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न क्रिजमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४१ रनको सामान्य स्कोर तयार पारेको थियो । कुवेतले जवाफमा १८.१ ओभरमा ८३ रन मात्र बनाउन सक्यो ।