२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउनुपर्छ ' : अर्थमन्त्री पौडेल

शनिवार , भाद्र २१, २०८२

 

काठमाडौँ, भदौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी औँल्याउने र सकारात्मक काम जनतासम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताएका छन ।

नेपाल आर्थिक पत्रकार समाज ( सेजन) को २७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रलाई आलोचनात्मक र सुझावात्मक दुवै दृष्टिकोणले अघि बढ्नुपर्ने बताए ।

सरकारका नीतिगत त्रुटि वा कार्यान्वयनमा कमजोरी भए त्यसलाई प्रस्टसँग जनतासामु उजागर गर्नु सञ्चारको दायित्व हो, पौडेलले भने, साथसाथै सरकारले गरेका उपलब्धि र जनहितमा भएका कामबारे नागरिकलाई सुसूचित पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।

सो अवसरमा अर्थमन्त्री पौडेलले आर्थिक पत्रकारिताको महत्त्वमा जोड दिँदै मुलुकको अर्थतन्त्रलाई सबल बनाउन पत्रकारको भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, रुस- युक्रेन तनावलगायत कारण मुलुकको अर्थतन्त्रमा असर देखिएको र पछिल्लो समय सुधार हुँदै गएको बताए ।

मुलुकको आर्थिक क्षेत्र सुधारका लागि निजी क्षेत्रबाट कसरी भूमिका खेल्न सकिन्छ भनेर महासङ्घले सधैँ पहल गरिरहेको उल्लेख गर्दै उनले कानुनी र व्यवहारिक सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेको धारणा राखे ।

यद्यपि कानुन कार्यान्वयन कमजोर हुँदा सोचेअनुरुप नतिजा प्राप्त गर्न नसकेको ढकालको भनाइ छ । कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्र सुधारका लागि कुन क्षेत्रमा कति लगानी आवश्यक छ र त्यसका लागि के कस्ता नीतिगत तथा कानुनी सुधार गरिनुपर्छ भनेर परिसङ्घले अध्ययन गरिरहेको बताए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्र सूचकहरू विस्तार सुधार हुँदै गए पनि निजी क्षेत्र अझै लगानीका तयार नभइसकेको बताए ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका सुझाव तथा सिफारिस कार्यान्वयनमा उनले जोड दिए ।

कार्यक्रममा सेजनका पूर्वअध्यक्षहरूले सञ्चार क्षेत्रले सामना गरिरहेका चुनौती, पत्रकारिताको गुणस्तर र आर्थिक क्षेत्रसम्बन्धी अनुसन्धानात्मक समाचारको आवश्यकताबारे विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार