२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

चीन - रुस सम्बन्ध - ' अभूतपूर्व स्तर ' मा पुगेको छ : पुटिन

मंगलवार , भाद्र १७, २०८२

 

बेइजिङ, भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको वार्तामा दुवै मुलुकबिचको सम्बन्ध हाल 'अभूतपूर्व स्तर' मा पुगेको बताउनुभएको छ । यो भेटवार्ता चीनमा बुधबार हुने विशाल सैन्य परेडअघि सम्पन्न भएको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनसहितका दर्जनौँ विश्व नेता चीनको शक्ति प्रदर्शनमा सहभागी हुन राजधानी बेइजिङमा भेला भएका छन् । हाम्रो घनिष्ठ संवादले रुसी(चिनियाँ सम्बन्धको रणनीतिक प्रकृतिलाई स्पष्ट गर्छ, जुन अहिले अभूतपूर्व स्तरमा पुगेको छ, पुटिनले पूल गरिएको लाइभ फिडमार्फत सीलाई भन्नुभयो ।

युद्धको समयमा दुवै मुलुकबिच भएको सहकार्यलाई स्वीकार गर्दै पुटिनले भन्नुभयो, ' हामी सधैँ सँगै थियौँ र अहिले पनि सँगै छौँ ।' सीले यस हप्ताको सुरुआतदेखि कूटनीतिक बैठक आरम्भ गर्नुभएको छ, जसमा उत्तरी सहर तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनसमेत पर्छ ।

चीनले यस मञ्चलाई पश्चिमी प्रभुत्वको विकल्पको रूपमा प्रस्तुत गर्ने गरेको छ । बुधबार हुने सैन्य परेड दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्षको स्मरणमा आयोजना गरिएको हो । यसमा करिब दुई दर्जन विश्व नेता सहभागी हुनेछन् । विश्वव्यापी अशान्ति सोमबार सम्पन्न शिखर सम्मेलनमा चीन र रुसका नेताहरूले पश्चिमी सरकारको आलोचना गरेका थिए ।

सीले केही मुलुकको बदमासीपूर्ण व्यवहारको निन्दा गर्दै अप्रत्यक्षरूपमा अमेरिकालाई इङ्गित गर्नुभयो भने पुटिनले रुसको युक्रेन आक्रमणलाई औचित्यपूर्ण ठहर गर्दै द्वन्द्व सुरु गराएकोमा पश्चिमलाई दोष दिनुभयो । चीन- रुस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनको परीक्षालाई सफलतापूर्वक सामना गरेको छ , सीले मङ्गलबार पुटिनलाई भन्नुभयो ।

उहाँले अझ न्यायपूर्ण र सन्तुलित विश्वव्यवस्था निर्माण गर्न’ मस्कोसँग सहकार्य गर्न बेइजिङ इच्छुक रहेको बताउनुभयो । सन् २०२२ को फेब्रुअरीमा पुटिनले युक्रेनमाथि आक्रमणको आदेश दिनुभन्दा केही अघि नै चीन र रुसले सीमाविहीन साझेदारीको घोषणा गरेका थिए ।

त्यसयता दुवै मुलुकबिच सैन्य तथा व्यापारिक सम्बन्ध अझ प्रगाढ बनेका छन्, जसले पश्चिमी मुलुकलाई चिन्तित पारेको छ । चीनले रुसको युद्धलाई न त प्रत्यक्ष समर्थन गरेको छ, न त निन्दा नै गरेको छ ।

उसले आफू तटस्थ रहेको दाबी गर्दै आएको छ र नियमितरूपमा युद्ध अन्त्यको आह्वान गर्ने गरेको छ । तर पश्चिमी देशहरूमाथि चीनले युक्रेनलाई हतियार उपलब्ध गराएर द्वन्द्व लामो बनाएको आरोप लगाउँदै आएको छ । सी र पुटिनबिच नियमित सम्पर्क हुने गरेको छ ।

उहाँहरूले गत महिना फोनमा कुराकानी गर्नुभएको थियो, जहाँ चिनियाँ नेताले मस्को र वासिङ्टनबिच सम्बन्ध सुधार भएको देखेर खुशी व्यक्त गर्नुभएको थियो ।

यसअघि मे महिनामा सीले दोस्रो विश्वयुद्धमा नाजीको पराजयको स्मरणमा रुसमा आयोजित मे ९ को उत्सवमा सहभागी हुन मस्को भ्रमण गर्नुभएको थियो । चीन र रुसले राजनीतिक आपसी विश्वास र रणनीतिक सहकार्यलाई निरन्तर गहिरो बनाइरहेका छन् ।

यसले अन्तर्राष्ट्रिय उथलपुथलबिच बहुमूल्य स्थिरता र सकारात्मक ऊर्जा प्रदान गरेको छ, सीले मे महिनाको भ्रमणका क्रममा भन्नुभएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार