काठमाडौँ, भदौ । नेपाल ' ए' क्रिकेट टोलीले टी–२० अभ्यास खेलमा आसाम प्रदेश क्रिकेट सङ्घविरुद्ध दोस्रो जित निकालेको छ । गुवाहटीस्थित वर्षापारा क्रिकेट मैदानमा शनिबार राति सम्पन्न तेस्रो खेलमा नेपालले आसामलाई नौ रनले हरायो ।
यससँगै पाँच खेलको सिरिजमा नेपालले २१ को अग्रता लिएको छ । यसअघि पहिलो खेलमा आसाम १५ र दोस्रो खेलमा नेपाल ९६ रनले विजयी भएको थियो ।
जितका लागि नेपालले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ८७ रन बनाउन सकेको थियो ।
आसामका लागि निहार डेकाले सर्वाधिक ४० रन बनाए । कप्तान सुमित घाडीगाँउकरले ३६, अब्दुल अजिज कुरेशीले अविजित ३१, साहिल जैनले २४ र शिवशङ्कर रोय ११ रन जोडेका थिए । बलिङमा नेपालका विवेकमुमार यादव, बसिर अहमद, आकाश चन्द र कमलसिंह ऐरीले दुई दुई विकेट लिए ।
आदिल आलम अन्सारीले एक विकेट झारे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९६ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ७४ रन बनाए ।
यस्तै आदिल आलम अन्सारीले ३५, तृतराज दासले ३३ र कप्तान अनिलकुमार साहले ३१ रन बनाए । बलिङमा आसामका आकाश सेनगुप्ताले दुई तथा मरिनमोय दत्त, अभिनव चौधरी र शिवशङ्कर रोयले एक एक विकेट लिनुभयो । चौथो खेल आजै (आइतबार) साँझ सुरु हुनेछ ।