काठमाडौँ, साउन । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनका चरणमा देखिएका कमी कमजोरीको समीक्षा गर्नुपर्ने बताएका छन ।
उनले गठबन्धन सरकार बन्दा संविधान संशोधनको एजेण्डा अघि सारिएको छ, त्यसका लागि पहिला त कमी कमजोरी थाहा पाउनुपर्ने बताएका छन ।
सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेता सिटौलाले संविधानको दीगोपनाका लागि समय सापेक्ष संशोधन हुनु पनि आवश्यक रहेको बताए ।
उनले दुवै सदनमा सरकारको दुई तिहाइ बहुमत नभएकाले सहमति जुटाएर मात्र संशोधन गर्न सकिने धारणा व्यक्त गरे । संविधान संशोधनका लागि सरकारले संयोजन गर्नुपर्ने र सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले सुझाए ।
फरक प्रसङ्गमा नेता सिटौलाले कांग्रेसले १५औँ महाधिवेशन २०८३ को मङ्सिरसम्म हुने बताए । उनले भने, पार्टीको चारवर्षे कार्यकाल आगामी मङ्सिरमा सकिने भए पनि एक वर्ष थप्न सकिने विधानको प्रावधान छ ।
कांग्रेसको महाधिवेशन प्रायः चार वर्षमा कहिल्यै भएको छैन । पार्टीको क्रियाशील सदस्यताको टुङ्गो नलागेको अवस्थामा यस वर्ष महाधिवेशन हुन सम्भव नरहेको उनको भनाइ थियो ।
वर्तमान सरकारले एक वर्षको अवधिमा जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्दै नेता सिटौलाले सत्तागठबन्धन र सरकार भने निरन्तर तथा पूरै कार्यकाल रहने स्पष्ट पारे ।