२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक

पूर्वअर्थमन्त्री डा महतले भने : ' बजेटमा आर्थिक अनुशासन आवश्यक छ’

आइतवार , आषाढ १, २०८२

 

काठमाडौँ, असार । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक अनुशासनको आवश्यकता रहेको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२-८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनले विगतको तुलनामा यो पटकको बजेट सन्तुलित र अनुशासित भएको उल्लेख गरे ।

आजको आवश्यकता आर्थिक अनुशासनको हो, बजेट तुलनात्मक रूपमा सन्तुलित छ । प्राथमिकताका आधारमा बजेट विनियोजन आजको अपरिहार्यता हो”, पूर्वअर्थमन्त्री डा महतले भने, बजेट विनियोजनमा अराजकता र अनुशासन हिनता हुने तर परिणाम प्राप्त नहुने परिस्थिति थियो, त्यसलाई कम गर्न यो बजेटले कोसिस गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा महतले सङ्घीय बजेटले तीन करोडभन्दा तलका आयोजना प्रस्तावित नगर्ने कार्यविधिलाई कार्यान्वयन गर्ने कोसिस गरेको भन्दै यसलाई अझ सशक्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । उनले भने, “अहिले पनि कतिपय आयोजना तीन करोडभन्दा तल परेका छन् । कार्यविधि पूर्ण लागू गरिएको भए अझ परिणामुखी हुन्थ्यो ।

यद्यपि, चार हजारभन्दा बढी आयोजना कटौती गरेर बजेटलाई परिणाममुखी बनाउने कोसिस गर्नुभएको छ, म सराहना गर्न चाहन्छु । सांसद महतले अहिले देशको आवश्यकता अनुसार बजेट अनुशासन र परिणाममुखी विनियोजन भएको भन्दै यसबाट आर्थिक वृद्धिको लक्ष्यमा सरकारी लगानीले योगदान गर्नसक्ने विश्वास व्यक्त गरे ।

सरकारले बजेट कार्यान्वयन गर्दै परिणाममुखी आयोजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । मुलुकमा पर्यटन क्षेत्रको सम्भावना बढी छ । जहाँजहाँ महत्त्वपूर्ण पर्यटकीय क्षेत्र छन्, तिनलाई बाह्रै महिना चल्ने सडक सञ्जालबाट जोडेर निजी क्षेत्रले होटल, रेष्टुरेन्टलगायत पूर्वाधार विकासमार्फत पर्यटन क्षेत्रको विकास गरिनुपर्छ”, उनले भने ।

पूर्वअर्थमन्त्री महतले बजेटमा प्रस्तावित स्रोत सुनिश्चितताको लक्ष्यमा पुग्न कठिनाइ हुने धारणा राखे । उनले भने, “आन्तरिक ऋण, वित्तीय तथा बैंकिङ प्रणालीबाट ऋण लिन बढी प्रस्ताव गरिएको छ, ऋणको साँवाब्याज तिर्न पुँजीगत खर्च बराबरको वित्तीय व्यवस्थापन गर्नुपर्ने हुन्छ । आगामी दिनमा विनियोजनमा देखिएको समस्या, स्रोत जुटाउने समस्याप्रति थप गम्भीर हुन जरुरी छ । ठोस, सार्थक र प्राथमिकताका आधारमा मात्रै खर्च गर्ने प्रचलनलाई विकसित गर्नुपर्छ ।”


उनले भने, “आन्तरिक ऋण, वित्तीय तथा बैंकिङ प्रणालीबाट ऋण लिन बढी प्रस्ताव गरिएको छ, ऋणको साँवाब्याज तिर्न पुँजीगत खर्च बराबरकै वित्तीय व्यवस्थापन गर्नुपर्ने अवस्था छ । आउने दिनमा सरकारले विनियोजनमा देखिएको समस्या, स्रोत जुटाउने समस्याप्रति थप गम्भीर हुन जरुरी छ ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार