काठमाडौँ, जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१-८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गरेका छन् । चालु आवमा देशको आर्थिक, सामाजिक एवं भौतिक विकासको स्थिति समेटिएको आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
मंगलबारको बैठकमा उनले चालु आर्थिक वर्षको पहिलो आठ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरिएको बताए ।
मन्त्री पौडेलका अनुसार चालु आवमा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान छ । प्रदेशगत रूपमा मधेश प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दा माथि रहेको छ, उनले भने, 'चालु आवमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ ।
यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान गरिएको छ ।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको मन्त्री पौडेलले बताए ।