२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपालमा ऊर्जा :   दक्षताको प्रयोग  तथा प्रवद्र्धन अत्यावश्यक 

सोमवार , जेठ १३, २०८२

 

 

नेपालमा ऊर्जा दक्षताको प्रयोग अझै प्रारम्भिक चरणमै रहेको भए तापनि पछिल्लो केही वर्षहरूमा यसतर्फ ध्यान बढ्दै गएको छ । ऊर्जा आयातमा निर्भरता, जलविद्युत्को सीमित क्षमता र वातावरणीय चुनौतीहरूलाई दृष्टिगत गर्दै नेपालमा ऊर्जा दक्षताको प्रवद्र्धन अत्यावश्यक बन्दै गएको छ । 

खासगरी उद्योग क्षेत्रमा ऊर्जा दक्षताको आवश्यकता र महत्व अझ बढी रहेको छ । उद्योगमा ऊर्जा दक्षता भन्नाले उद्योगहरूले न्यूनतम ऊर्जाको प्रयोग गरेर अधिकतम उत्पादन हासिल गर्ने प्रक्रिया हो । यसले ऊर्जा बचत गर्नाका साथै लागत घटाउने, वातावरणमा पर्ने असर कम गर्ने र दिगो विकासमा टेवा पु¥याउने कार्य गर्दछ ।

नेपालको संविधानले नै ऊर्जा दक्षतालाई विशेष महत्व दिएको छ । धारा ५१ मा ‘नवीकरणीय ऊर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका लागि सुपथ तथा भरपर्दो ऊर्जाको आपूूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समुचित प्रयोग गर्ने’ भन्ने उल्लेख छ । यसबाहेक औद्योगिक व्यवसाय ऐन, औद्योगिक नीति र जैविक ऊर्जा रणनीतिले पनि ऊर्जा दक्षतालाई सम्बोधन गरिएको छ । 

२०७५ मा जारी राष्ट्रिय ऊर्जा दक्षता रणनीतिले औद्योगिक क्षेत्रमा ऊर्जा दक्षताको सम्भावनाहरुलाई उजागर गरेको छ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक संसद्मा पारित हुने प्रक्रियामा छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल ऊर्जा दक्षता कार्यक्रम (निप) जस्ता संस्थाहरूले ऊर्जा अडिटमा सहयोग गर्दै आएका छन् । जर्मन विकास संस्था जिआइजेडको सहयोगमा सञ्चालन भएको यो कार्यक्रमले ऊर्जा दक्षता प्रवद्र्धनमा सहयोग पु¥याउँदै आएको छ । 

उद्योगमा ऊर्जा दक्षता बढाउने विभिन्न उपायहरू हुन सक्छन् । ऊर्जा अडिटको माध्यमबाट उद्योगमा प्रयोग हुने ऊर्जा कहाँ कति खपत हुँदैछ भनेर अध्ययन गर्न सकिन्छ । पुराना मेसिन तथा उपकरणलाई ऊर्जा दक्ष प्रविधिसँग प्रतिस्थापन गर्ने, ऊर्जा व्यवस्थापन प्रणाली लागू गर्ने, उत्पादन प्रक्रियामा उत्पन्न हुने ऊर्जा वा खेर गएका वस्तुको पुनः प्रयोग गर्ने, ऊर्जा दक्ष अभ्यासमा कर्मचारीलाई प्रशिक्षित तुल्याउनेजस्ता कामहरु गर्न सकिन्छ । ऊर्जा दक्षता बढाउँदा उत्पादन लागतमा कमी, प्रतिस्पर्धात्मक लाभ, वातावरणीय असरमा कमी हुनाका साथै मुलुककै दिगो विकासमा योगदान पुग्दछ ।


सफल अभ्यास

केही ठूला उद्योगहरू (जस्तै सिमेन्ट, स्टिल, चिनी, इँटा उद्योगहरू) ले ऊर्जा अडिट गर्न सुरु गरिसकेका छन् । कतिपय उद्योगहरुले ऊर्जा अडिट तथा मूल्याङ्कन, ऊर्जा दक्ष प्रविधिको प्रयोग जस्तै ः लिड बल्ब र ऊर्जा दक्ष विद्युतीय उपकरणहरूको प्रयोग गर्न थालेका छन् । 

इँटा उद्योगहरूमा जिगज्याग प्रविधि जडान गरी कोइला र इन्धनको खपत घटाइएको छ । केही औद्योगिक समूहले सोलार प्रणाली, बेस्ट हिट रिकभरी र इन्धन दक्ष बायलरहरू प्रयोग गर्दै आएका छन् ।

पञ्चकन्या समूह मातहतको पञ्चकन्या स्टिल्सको कारखानाको परम्परागत भट्टी र अरू मेसिनहरूको ऊर्जा दक्षता प्रणालीअनुरूप स्तरोन्नति गरेपछि विद्युत् खपतमा कमी आउनाका साथै उद्योगको समग्र प्रभावकारितामा सुधार आएको छ । यसले जनशक्तिमाथिको निर्भरता घटेको छ । विद्युत् र जनशक्तिको खर्च घटेपछि स्वाभाविक रूपमा यसले कम्पनीको मुनाफा पनि बढाएको छ । 

पञ्चकन्या स्टिल्सले यो कार्य सन् २०१८ बाट अघि बढाएको हो । सुुरुमा कम्पनीले आफ्नो कारखानाको ऊर्जा परीक्षण ९इनर्जी अडिट० गराएको थियो र त्यसका आधारमा क्रमशः ऊर्जा बचतका विकल्प एवं लागत कम गरेको थियो । यसका लागि कम्पनीले रु दुई करोड ७६ लाख जुटाएको थियो भने जर्मनी सरकारको आर्थिक सहयोग तथा विकास मन्त्रालयबाट रु ७८ लाख अनुदान सहयोग पाएको थियो । 

ऊर्जा दक्षताको प्रणालीले उद्योगलाई आर्थिक लाभ मात्रै होइन,  पर्यावरण मैत्री उद्योगका रुपमा आफूलाई स्थापित गराएको छ । ऊर्जा दक्षता सम्बन्धमा यस्तै सुखद अनुुभव केडिया अर्गनाइजेसनको पनि छ । अर्गनाइजेसनअन्तर्गतको सीताराम गोकुुल मिल्सले पनि सन् २०१७ मा ऊर्जा परीक्षण गराएको थियो । त्यसअनुसार मुख्य विद्युतीय प्रणाली र प्रशोधन एकाइको स्तरोन्नतिपछि वार्षिक ४४ हजार किलोवाट घण्टा ऊर्जा र २७ हजार लिटर इन्धन बचत भएको छ । 

यस उद्योगलाई पनि जर्मनको आर्थिक सहयोग तथा विकास मन्त्रालयबाट रु ७६ लाख प्राप्त भएको थियो भने उद्योग आफैँले रु २० लाख लगानी गरेको थियो । यो लगानी तीन वर्षमै उठ्नाका साथै उद्योगको वार्षिक खर्चमा धेरै कमी आएको छ ।

  
ऊर्जा दक्षता प्रणालीको आवश्यकता

त्यसै पनि हाम्रा जलविद्युत् आयोजनाहरू ‘रन अफ रिभर’ प्रणालीमा आधारित छन्, जसले हिउँद÷सुक्खायाममा जडित क्षमताका आधाभन्दा पनि कम विद्युत् उत्पादन गर्छन् । यतिखेर हाम्रो जडित जलविद्युत् उत्पादन क्षमता करिब तीन हजार ३०० मेगावाट मात्रै छभने त्यसको उपयोग पनि असाध्यै परम्परागत ढङ्गबाट भइरहेको छ । 

हिउँद लागेसँगै हाम्रो विद्युत्ले नपुग भई भारतबाट आयात गर्नु परिरहेको छ । बढी ऊर्जा खपत गर्ने कलकारखानाहरू पुरानै प्रणालीमा आधारित छन्, जसलाई स्तरोन्नति नगरेसम्म विद्युत्को माग कम हुन सक्दैन । 

ऊर्जामा हाम्रो निर्भरता अझै पनि दाउरालगायतका परम्परागत प्राकृतिक स्रोतमै छ । त्यसपछि भनेको कोइला, जलविद्युत् र पेट्रोलियम इन्धनमा हो । जल तथा ऊर्जा आयोगको गत वर्षको तथ्याङ्कअनुुसार दाउरालगायतका प्राकृतिक स्रोतको हिस्सा कुल ऊर्जा उपयोगमा ६४ प्रतिशत रहेको छभने पेट्रोलियम र कोइलालगायतका इन्धनको खपत २८ प्रतिशत छ । 

जबकि जलविद्युत् करिब पाँच प्रतिशत र वैकल्पिक ऊर्जा करिब तीन प्रतिशत मात्रै छ । राष्ट्रिय खपतका हिसाबले घरायसी प्रयोजनमै करिब ६१ प्रतिशत ऊर्जा खपत हुन्छ । त्यसपछि ऊर्जाको ठूलो अंश औद्योगिक एवं व्यावसायिक प्रयोजनमा २७ प्रतिशत, करिब साढे १० प्रतिशत ऊर्जा यातायात क्षेत्रमा उपभोग हुुन्छ । 

पछिल्लो समय बिजुलीका परम्परागत चिमभन्दा सिएफएल र एलइडी प्रविधिका चिम प्रयोगमा आएकाले ऊर्जा दक्षता अभियानलाई केही फाइदा पुुगेको छ । केही वर्षयता बिजुलीबाट चल्ने निजी र सार्वजनिक सवारीसाधन बढिरहेकाले पेट्रोलियम पदार्थको आयात घट्न गई वैदेशिक व्यापारको स्थितिमा केही सुधार आएको छ । 

गत पुसको पहिलो साता सार्वजनिक भन्सार विभागको तथ्याङ्कमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा गत आर्थिक वर्षको यही अवधिको तुुलनामा डिजेल र पेट्रोलको आयात क्रमशः २१ प्रतिशत र सात प्रतिशतले घटेको देखाएको छ । आगामी दिनमा विद्युत्को खपतमा वृद्धि र त्यसको दक्षतापूर्ण प्रयोग गर्न सकिएमा ऊर्जामा मुलुकलाई आत्मनिर्भर सजिलै सकिन्छ । 

 
ऊर्जा दक्षताका लागि अनुदान 

उद्योगी–व्यवसायीलाई ऊर्जा दक्षताका लागि अभिप्रेरित गर्न एउटा अनुदान कार्यक्रम पनि सुुरु गरिएको छ । राष्ट्रिय वाणिज्य बैङ्क व्यवस्थापक रहेको यस अनुदान योजनाले उद्योग तथा व्यवसायलाई ऊर्जा दक्षताका उपायहरू अवलम्बन गर्न प्रोत्साहन गर्ने उद्देश्य लिएको छ । 

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम नेपालमा दिगो ऊर्जामार्पmत पुनः प्राप्ति एवं सशक्तिकरण ९रिप–ग्रिन० अन्तर्गत सञ्चालित यस योजनाबाट उद्योग–व्यवसायमा ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याई दिगो औद्योगिक विकासलाई बढावा दिने र कार्बन उत्सर्जन घटाउने लक्ष्य राखिएको छ ।  यस पहलअन्तर्गत ऊर्जा परीक्षकबाट सिफारिस भएका दक्षताका उपायहरू कार्यान्वयनका लागि प्रोत्साहित गर्न बैङ्कमार्फत आंशिक अनुदान उपलब्ध गराइन्छ । 

अनुदान सञ्चालन निर्देशिकाअनुसार ऊर्जा दक्षताका उपायमा कुल आवश्यक लगानीको निश्चित प्रतिशत आंशिक अनुदान हुनेछभने बाँकी सहुलियतपूर्ण ब्याजदरको ऋण ।  यसका लागि योग्य ठहरिन उद्योग–व्यवसायले वातावरणीय मापदण्डहरूसमेत अवलम्बन गरेको हुनुपर्छ । यो कार्यक्रमले उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताका उपायहरू अवलम्बन गर्दा आइपर्ने वित्तीय समस्यालाई सम्बोधन गरी ऊर्जा दक्षताका प्रविधिहरूमा लगानी गर्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ । 

यसबाट ऊर्जा दक्षताको महत्वपूर्ण पक्ष मानिने ऊर्जा लागतमा कटौतीका साथै पर्यावरणीय लाभ तथा विदेशी विनिमयको सञ्चितिमा पनि टेवा पुग्नेछ । यसले दिगो ऊर्जा अभ्यासलाई बढावा दिने त छँदैछ, चक्रीय अर्थतन्त्रका सिद्धान्तलाई एकीकृत गर्न र उद्योग तथा व्यवसायमा मर्यादित कामको अभ्यासलाई प्रोत्साहित गर्नेजस्ता व्यापक लक्ष्यलाई समेटेको छ । यसले उद्योगहरूलाई ऊर्जा संरक्षण, जलवायु–अनुकूल अभ्यासमा योगदान पु¥याउन तथा मर्यादित कामका सिद्धान्त अवलम्बन गर्न व्यावहारिक बाटो देखाउनेछ ।

जनचेतनाको अभाव, दक्ष जनशक्तिको कमी, ऊर्जा दक्ष उपकरणको उच्च लागत एवं स्पष्ट नीतिगत ढाँचा र प्रोत्साहनको अभावका कारण पनि उखेग क्षेत्रमा ऊर्जा दक्षताको विस्तार हुन सकेको छैन । ऊर्जा दक्षताको प्रभावकारिता अझ सशक्त बनाउन सरकार, निजी क्षेत्र, तथा विकास साझेदारहरूको सहकार्य आवश्यक छ । 

ऊर्जा पहुँचमा वृद्धि, ऊर्जा बजारलाई थप सस्तो र प्रतिस्पर्धी बनाउन सघाउने, रोजगारीको अवसर सिर्जना तथा एकीकृत दिगो विकास लक्ष्य हासिल गर्नेलगायतका रणनीतिक योजना कार्यान्वयनमा ध्यान दिन आवश्यक छ ।  रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार