वीरेन्द्रनगर (सुर्खेत) वैशाख । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताएका छन । आज यहाँ आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएका बताएका हुन ।
प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील छ भने । सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उनले बताए ।
हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहीनता बढ्यो, उनले भने, यसलाई नियमन गर्नैपर्छ, त्यसकालागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।
साथै मन्त्री गुरुङले कुनै पनि सञ्चारमाध्यमले जातीय सद्भावमा खलल गतिविधि गर्ननहुनेमा जोड दिए । सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक शीघ्र पारित गरिने उनले बताए ।
अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै उनले ४० हजारभन्दा बढी त्यससम्बन्धी उजुरी दर्ता भएका बताए । सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कैसैलाई छुट नभएको मन्त्री गरुङको भनाइ थियो ।