विश्वमा सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई देश संयुक्त राज्य अमेरिका र चीनबीच अहिले व्यापार युद्ध चर्किएको छ। अमेरिकामा चिनियाँ आयातमाथि २४५५ सम्म ट्यारिफ लगाइएको छ भने बेइजिङले अमेरिकी आयातमाथि १२५५ सम्म जबाफी शुल्क लगाइदिएको छ।
विश्वव्यापी आर्थिक मन्दीको त्रास बढिरहँदा उपभोक्ता, व्यापार व्यवसाय एवं बजारले थप अनिश्चय झेल्दै छन्। चिनियाँ राष्ट्रपति सी जिन्पिङ नेतृत्वको सरकारले वार्ताका लागि आफू खुला रहेको भनेको छ तर आइपरेको खण्डमा 'अन्तिमसम्म लड्ने' स्पष्ट पारेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेका आयात शुल्कसँग जुझ्न बेइजिङसँग कस्ता अस्त्र छन् भन्नेबारे यहाँ चर्चा गरिएको छ।
चीन पीडा खेप्न सक्छ (एक हदसम्म)
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। अर्थात् अन्य कैयौँ साना देशहरूले भन्दा उसले ट्यारिफका प्रभाव सहन सक्छ। एक अर्बभन्दा धेरै जनसङ्ख्याका कारण ऊसँग विशाल घरेलु बजार छ जसले ट्यारिफले मर्कामा परेका निर्यातकर्ताहरूलाई परेको केही दबाव घटाइदिन सक्छ।
अचेल चिनियाँ जनताले अपेक्षाभन्दा कम खर्च गरिरहेकोमा बेइजिङ चिन्तित छ। तर घरायसी उपकरणहरूमा छुटदेखि ज्येष्ठ नागरिकहरूलाई लक्ष्य गरिएको विशेष रेलसेवा लगायतका सुविधाका कारण उपभोक्ताले बढी खर्च गर्न सक्छन्।
ट्रम्पको ट्यारिफका कारण चिनियाँ कम्युनिस्ट पार्टीलाई देशका उपभोक्ताहरूको शक्ति उजागर गर्न थप प्रोत्साहन मिलेको छ।
(चिनियाँ नेतृत्व) अमेरिकी आक्रामकताका सामु झुक्नुको साटो पीडा सहन तयारै हुने छन्,' वाशिङ्टन डीसीस्थित पिटर्सन इन्स्टिट्यूटका अमेरिका(चीन व्यापारविज्ञ मेरी लभ्लीले बीबीसी न्यूजआवरसँग यसै महिना भनेकी थिइन्। '
निरङ्कुश शासनसत्ता भएका कारण चीनसँग धेरै पीडा सहन सक्ने क्षमता छ किनभने अल्पकालीन जनमतबाट ऊ कमै चिन्तित हुन्छ।
नेतृत्व परीक्षण गर्ने कुनै निर्वाचन तत्काल हुन लागेको पनि छैन। तर पनि जनतामा छाउन सक्ने असन्तुष्टि चिनियाँ नेतृत्वका लागि चिन्ताको विषय भने हो।
घरजग्गा सङ्कट तथा रोजगारी गुमिरहेका कारण मानिसहरूमा अहिले नै असन्तुष्टि व्याप्त छ। उदाइरहेको चीन मात्र देखेका युवायुवतीका निम्ति ट्यारिफले निम्त्याएको आर्थिक अनिश्चय ठूलो चोट हो।
चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रवादी भावनाको आधारमा उसले चालेका जबाफी कदमहरूलाई उचित ठहर्याइरहेको छ भने सरकारी सञ्चार माध्यमहरूले चाहिँ मानिसहरूलाई ' सङ्कटको मिलेर सामना' गर्न आह्वान गरेका छन्।
राष्ट्रपति सी जिन्पिङ चिन्तित होलान् तर हालसम्म चीनले आत्मविश्वासपूर्ण प्रतिक्रिया दिइरहेको छ। 'आकाश खस्दैन,' एक अधिकारीले भने।
चीनको लगानी भविष्यका लागि
राष्ट्रपति सीको नेतृत्वमा प्रविधिमाथि वर्चस्वको लागि चीन अमेरिकासँग दौडमा छ। पुनर्नवीकरणीय ऊर्जादेखि चिप अनि एआईमा उसले निकै लगानी गरिरहेको छ।
उदाहरणका लागि, डीपसीक नामक च्याटबटलाई च्याटजीपीटीको बलियो प्रतिस्पर्धी मानिएको छ।
बीवाईडीले टेस्लालाई उछिनेर गत वर्षको सबभन्दा ठूलो विद्युतीय गाडी निर्माता बन्यो। एपलले उसको चिनियाँ बजारको हिस्सा स्थानीय प्रतिस्पर्धी ह्वावेई तथा भिभोका कारण गुमाउँदै छ।
हालै बेइजिङले आगामी एक दशकमा एआईको विकासका निम्ति १० खर्ब डलर खर्च गर्ने घोषणा गरेको छ।
अमेरिकी कम्पनीहरूले तिनको आपूर्ति शृङ्खला चीनभन्दा बाहिर लग्न खोजिरहेका छन्। तर अन्यत्र उही स्तरका पूर्वाधार तथा दक्ष कामदार भेट्न उनीहरूलाई चुनौतीपूर्ण भएको छ।
आपूर्ति शृङ्खलाका प्रत्येक चरणमा चिनियाँ उत्पादकहरूले आफ्नो देशलाई अरूभन्दा दशकौँ अगाडि पुर्याएका छन्। उनीहरूको जस्तो सफलता हासिल गर्न अरूलाई समय लाग्नेछ।
आपूर्ति शृङ्खलामा उसको दक्षता तथा सरकारी सहयोगले चीन यो व्यापार युद्धमा शक्तिशाली प्रतिस्पर्धी बनेको छ। वास्तवमा बेइजिङले यो दिनका निम्ति ट्रम्पको पहिलो कार्यकालदेखि नै आफूलाई तयार पार्दै आएको छ।
ट्रम्पको पहिलो कार्यकालको पाठ
सन् २०१८मा ट्रम्पले चिनियाँ सोलर प्यानलहरूमाथि ट्यारिफ लगाइदिएलगत्तै बेइजिङले अमेरिकी- नेतृत्वको विश्व व्यवस्थाभन्दा अगाडिको भविष्यबारे तीव्र योजना बनाउन थालेको थियो।
उसले बेल्ट एन्ड रोड इनिशटिभ (बीआरआई) भनिने विवादित व्यापार तथा पूर्वाधार कार्यक्रममा अर्बौँ लगानी गरेको छ र ग्लोबल साउथसँग सम्बन्ध बलियो बनाएको छ।
अमेरिकासँग व्यापार खुकुलो बनाउँदै चीनले यही अवधिमा दक्षिणपूर्वी एशिया, ल्याटिन अमेरिका र अफ्रिकासँगको व्यापारमा विस्तार गरेको छ।
कुनै बेला अमेरिकी कृषकहरूले चीनको भटमास आयातको ४०५ हिस्सा ओगट्थे। त्यो सङ्ख्या अहिले २०५ को हाराहरीमा झरेको छ।
यसअघिको व्यापार युद्धपश्चात् बेइजिङले देशभित्रै भटमास खेती बढाउनुका साथै ब्रजिलबाट अत्यधिक आयात गर्न थाल्यो। अहिले उसको सबभन्दा ठूलो भटमास आपूर्तिकर्ता ब्रजिल बनेको छ।
' यो कदमले' एक पन्थ, दुई काजुको काम गर्छ। एकातिर अमेरिकाले कुनै बेलाको बलियो बजार गुमाउने छ भने अर्कोतिर चीनको खाद्यसुरक्षा पनि सुदृढ हुन्छ,' यूनिभर्सिटी अफ टेक्नोलजी सिड्नीको अस्ट्रेलिया-चीन रिलेशन्स इन्स्टिट्यूटमा प्राध्यापन गर्ने डा मरिना यु जाङ्ले भनिन्।
अहिले अमेरिका चीनको सबभन्दा ठूलो निर्यात बजार होइन, त्यो स्थान दक्षिणपूर्वी एशियाले लिइसकेको छ।
सन् २०२३ मा ६० देशका लागि चीन सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ। यो सङ्ख्या अमेरिकासँग तुलना गर्दा दोबर हुन आउँछ।
विश्वको सबभन्दा ठूलो निर्यातकर्ता चीनले सन् २०२४ को अन्त्यमा १० खर्ब डलरको व्यापार नाफा कमायो।
त्यसो भन्दैमा अमेरिका चीनको महत्त्वपूर्ण व्यापार साझेदार होइन भन्ने अर्थ लाग्दैन। तर चीनलाई चेपोमा पार्न चाहिँ वाशिङ्टनलाई सजिलो हुने छैन भन्ने अर्थ लाग्छ।
ह्वाइट हाउसले अरू देशसँगको व्यापार वार्तामार्फत् चीनलाई एक्ल्याउन खोज्दै छ भन्ने विवरणलगत्तै चीनले उसको हितसँग प्रतिकूल हुने गरी त्यस्ता व्यापार सम्झौता नगर्न अन्य देशलाई चेतावनी दिएको छ।
बहुसङ्ख्यक देशहरूका लागि त्यसो गर्न असम्भवप्रायस् हुने देखिन्छ।
' हामी कुनै एकलाई छान्न सक्दैनौँ, अनि हामीले (चीन र अमेरिकामध्ये) एकलाई कहिल्यै छान्ने छैनौँ,' मलेशियाका व्यापारमन्त्री तेङ्कु जफरुल अजिजले गत साता बीबीसीलाई बताए।
ट्रम्प कतिखेर पछि हट्छन् भन्ने चीनलाई थाहा छ
ट्रम्पले एप्रिल महिना सुरुमा ट्यारिफ घोषणा गरेपछि स्टक बजार निकै खस्कियो। तर उनी आफ्नो निर्णयमा टसको मस भएनन्।
बरु उनले आफ्नो कदम 'बिरामीलाई औषधि दिएको जस्तै' भएको तर्क गरे।
तर अमेरिकी सरकारी बन्डको बजारमा प्रभाव पर्नासाथ उनले अधिकांश ट्यारिफलाई ९० दिनसम्म स्थगन गरे। ट्रेजरी पनि भनिने यी बन्डहरू लामो समयदेखि सुरक्षित लगानी मानिन्थ्यो। तर व्यापार युद्धले तीमाथिको विश्वास समेत धर्मराएको छ।
त्यसयता ट्रम्पले चीनसँगको व्यापार तनाव मत्थर पार्ने सङ्केत दिएका छन्। उनले चिनियाँ वस्तुमा लागेको ट्यारिफ शुल्क उल्लेखनीय घट्ने तर 'शून्य नहुने' टिप्पणी गरेका छन्।
त्यसैले बन्ड बजारले ट्रम्पलाई खलबलाइदिन सक्छ भन्ने अब बेइजिङले बुझेको छ। अनि चीनसँग ७०० अर्ब डलर बराबरको अमेरिकी सरकारी बन्ड छ।
चीनभन्दा धेरै अमेरिकी बन्ड किनेर राखेको एकमात्र अर्को देश जापान हो। कतिपय विश्लेषकहरू यसले चीनको हात बलियो बनाएको धारणा राख्छन्।
उनीहरूका अनुसार चिनियाँ सञ्चारमाध्यमहरूले बारम्बार चीनले ती बन्ड बेचिदिन वा थप बन्ड किन्ने क्रम रोकिदिने र त्यसलाई अस्त्रका रूपमा प्रयोग गर्न सक्छ।
तर विज्ञहरूका अनुसार त्यसो गर्दा चीन पनि अप्रभावित रहन सक्दैन। वास्तवमा त्यसो भयो भने बन्ड बजारमा चीनले गरेको लगानीमा ठूलो घाटा हुने छ र चिनियाँ मुद्रा युआनलाई अस्थिर बनाइदिन्छ।
बन्डमार्फत् चीनले 'एउटा बिन्दुसम्म' मात्र अमेरिकामाथि दबाव दिन सक्ने डा जाङले बताइन्।
'चीनसँग लेनदेन गर्न एउटा उपाय त छ तर त्यो वित्तीय अस्त्र भने होइन।'
' रेअर अर्थ' खनिजमाथि वर्चस्व
'रेअर अर्थ' भनिने दुर्लभ खनिजमा त्यस्ता तत्त्वहरू पर्छन्, जो अत्याधुनिक प्रविधिका लागि आवश्यक विविध उपकरण निर्माणमा महत्त्वपूर्ण हुन्छन्। तिनको उत्खनन तथा प्रशोधनमा रहेको चीनको एकाधिकारलाई चाहिँ उसले अस्त्रका रूपमा प्रयोग गर्न सक्छ।
चीनमा ती तत्त्वको विशाल भण्डार छ, जस्तो कि 'डिस्प्रोजिअम' जसको प्रयोग विद्युतीय गाडी तथा 'विन्ड टर्बाइन' का चुम्बकमा हुन्छ, अनि 'यत्रिअम' जसबाट जेट इन्जिनका लागि तापप्रतिरोधी लेपन बन्छ।
ट्रम्पका पछिल्ला ट्यारिफहरूको बदलामा चीनले एआई चिप बनाउन चाहिने सात थरी त्यस्ता तत्त्वको निर्यात रोकिदिएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईइए) को अनुमान अनुसार संसारभरि रेअर अर्थको उत्पादनमध्ये चीनको हिस्सा ६१५ छ भने तिनको प्रशोधनमा चीनको हिस्सा ९२५ छ।
अस्ट्रेलिया, जापान र भियतनामले ' रेअर अर्थ' को उत्खनन गर्न सुरु गरेका छन् तर चीनलाई यसको आपूर्ति शृङ्खलाबाट पूरै बाहिर निकाल्न वर्षौँ लाग्ने छ।
सन् २०२४ मा चीनले अर्को खनिज 'एन्टिमोनी' को निर्यात रोकिदिएको थियो। विविध उत्पादन प्रक्रियामा अत्यावश्यक उक्त खनिजको भाउ त्यसपछि दोबर भयो किनकि त्यसको खरिदमा तँछाडमछाड भयो र त्यसको वैकल्पिक आपूर्तिकर्ताको खोजी भयो।
अब पनि 'रेअर अर्थ' को बजारमा त्यस्तै दृश्य दोहोरिने त्रास छ जसले विद्युतीय गाडीदेखि लिएर रक्षासम्बन्धी उद्योगहरूमा गम्भीर असर पर्न सक्छ।
'तपाईँले स्विच अनर अफ गर्न सक्ने जुनसुकै वस्तुमा सम्भवतस् रेअर अर्थको प्रयोग भएको हुन्छ,' जिन्जर इन्टर्न्याश्नल ट्रेड एन्ड इन्भेस्ट्मन्टका निर्देशक थोमस क्रुमरले बीबीसीलाई यसअघि भनेका थिए।
'अमेरिकी रक्षा उद्योगमा उल्लेखनीय प्रभाव पार्ने छ।' - बीबीसीबाट