खास्तो फिर्ता गरेपछि सिम्हदुम्ह, बालकुमारी, श्वेतभैरव र महाकालीबीच विशेष पूजा गरी गरिन्छ । त्यसपछि श्वेतभैरवले बोक्ने पुलुको सबै कुनामा माछा राखेर श्वेतभैरवको नाच देखाइन्छ । माछा राख्न सकेपछि पुलुले श्वेतभैरवलाई हावा हम्काई ङालाकेगु जात्रा गरिन्छ । यो जात्रा टोलटोलमा तीन पटकसम्म गरिन्छ ।
माछा मार्ने जात्रा सकेपछि श्वेतभैरवलाई पेट दुखेर छटपटिरहेको नाच देखाइन्छ । सिम्हदुम्हलाई भनेर इन्द्रायणीलाई बोलाउन पठाई अक्षता छरेर निको पारिन्छ । यसपछि श्वेतभैरव र इन्द्रायणीको नाच प्रदर्शन गरिन्छ । नाचमा स्वेतभैरवले सिम्हदुम्हको सहयोग लिई लुगा धुन लगाउँदा लुगा फालिदिन्छ । फालिदिएपछि सिम्हदुम्हलाई गाली गरी आफैँले लुगा धुने नाच देखाइन्छ ।
समापन नाच
समापन नाच राति देखाइन्छ । यस नाचमा श्वेतभैरवको नाच देखाइन्छ । लगत्तै सम्पूर्ण देवगणहरुले सामूहिक नाच प्रदर्शन गरिन्छ । त्यसपछि स्थानीयवासीका हर्षोल्लासका साथ बाजागाजा अगाडि राखेर जयजयकारका साथ धूप, अगरबत्ती बाली देवगृह पु¥याई जात्रा सम्पन्न गरिन्छ ।
प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण, उत्साह उमङ्ग छाएको हुन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइको सामना गर्नुपर्छ । नेवार समुदायमा वर्षदिनको चाड घण्टाकर्णदेखि सुरु भई सिथी नखाःमा समापन हुन्छ । घण्टाकर्णसँगै नवदुर्गा उत्पत्ति भई सिन्हाज्या सुरु गरिन्छ । भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप सुरु हुने, मानिसहरु आलस्य भई विभिन्न रोगबाट ग्रसित हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिनुभयो ।
नवदुर्गागणको नाचबारे प्रचलित किंवदन्तीअनुसार भक्तपुर नगरको पूर्वमा अवस्थित नालागाउँमा एउटा ब्रह्मायणी जोल भन्ने जङ्गल थियो । सो जङ्गलको खोँचमा एउटा मन्दिर छ । उक्त मन्दिरबाट नवदुर्गागण प्रकट भई नाच्ने, जङ्गलको बाटो भई आवतजावत गर्ने जोसुकै मानिसहरुको भोगबलि लिने कारण जनजीवन भयावह अवस्था आयो । एकपल्ट नालाकै एक सिद्ध तान्त्रिक आचाजु सोही बाटो हुँदै जाँदा नवदुर्गाले भोगबलि लिन खोज्दा आचाजु चलाख भएर पहिले सबै गणको दर्शनपूजन गर्न पाउँ भनी बिन्तीभाव गर्दा गणले मानेपछि आचाजुले सबै देवगणलाई तान्त्रिक मन्त्रशक्तिबाट तानेर कलाली ९नेवार समुदायान पूजा राख्ने विशेष खालको थाली० मा विराजमान गराई नालास्थित आफ्नै घरमा लगेछ ।
आचाजु जीवत भएसम्म नित्य पूजा भयो तर मृत्युपछि पूजा गर्ने कोही नभएपछि देवगणहरु तान्त्रिक मन्त्रशक्तिबाट बाहिर आएर पुनः सोही स्थानमा आएर मानिसको भोगबलि लिन थाले । भोगबलिकै लागि नवदुर्गाले मनुष्यको रुपधारण गरी नालाका मानिसहरुलाई जङ्गलमा लाने र भोगबलि लिन थाले । यस्तो भएपछि नालामा पुरुष नहुने स्थिति आयो ।
एक दिन नालामा नवदुर्गाले भोगबलि लिएका मानिसको कर्मकाण्ड गर्न सोमराज नाम गरेका एकजना ब्राह्मण गएछन् । कारणवश ब्राह्मण आचाजुको घरमा पुगेछन् । घरको अवस्था देखेर उहाँले आचाजुको घरमा खोजीनिति गर्दा एउटा कोठामा कलाली भेटाएछ । ब्राह्मणले तान्त्रिक मन्त्रद्वारा सबै देवगणलाई आह्वान गरी पुनः त्यही कलालीमा राखेर आफ्नो बासस्थान सोमला गल्लीमा लगेछ । कसैले नदेख्ने गोप्य ठाउँमा राखी नियमित नित्यकर्म पूजापाठ गर्न थाले ।
एक दिन ब्राह्मण स्नान गर्न गएका बेला उहाँको श्रीमतीले देवगण भएको कोठामा ढोका खोली हेर्दा देवगणले चाल पाएर कोप भई त्यहाँबाट पूर्वदिशातर्फ लागे । त्यहाँबाट कोप भई गएपछि इनाचोस्थित स्वंग ल्हमा पुग्दा देवगणहरुले सुँगुरको भोगबलि लिई रहेको ब्राह्मणले थाहा पाए । त्यो देखेर ब्राह्मणले देवगणलाई पुनः फर्कन आग्रह गर्छन् । मन्त्रले काम नगरेपछि नवदुर्गालाई देशवासीको अगाडि ल्याउनुपर्छ भनी सबै गण समावेश भएको गणखा (वनमाला समुदाय)लाई नृत्य सिकाई मुकुण्डो खर्पनमा राखी पठाएको किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार देवगण सिद्ध हुनलाई मोहनी (कालो टीका) धारण गरेपछि देव प्रतिनिधि हुन पाउनेछन् । यसकारण नवदुर्गाको मुबाहाका रुपमा सुँगुरलाई लिएको मानिन्छ ।
आठ महिना सञ्चालन हुने यो जात्रा नगरको तुलाछेस्थित त्रिपुरासुन्दरी, तुछिमला, इच्छुबाहेक बाहिर जिल्लाका पनौती र बनेपा गरी पाँच ठाउँमा बाँकी रहेको छ । खाली पेटमा जाँड र रक्सीको भरमा नाङ्गो खुट्टाले नाच्नुपर्ने कठोर नाचको नियम पालना गर्दै जात्रालाई जीवन्त राख्दै आएका वनमाला समुदायको संरक्षण र संवद्र्धनका लागि गुठी संस्थान, भक्तपुर नगरपालिकालगायत राज्यले विशेष बन्दोबस्त गरिदिनुपर्ने जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका पूर्वसचिव रत्नमान वनमालाले बताउनुभयो ।