२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

चीन जोड्ने कोरला सडक आयोजना   : ' चार योजना कार्यान्वयनमा '

बिहिवार , फाल्गुण २९, २०८१

मुस्ताङ, फागुन । उत्तर र दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी- जोमसोम- कोरला सडक आयोजना अन्तर्गत चालु आर्थिक वर्षका लागि छनोट भएका नौवटा योजनामध्ये चार योजना कार्यान्वयनमा आएका छन् । पहिरो नियन्त्रण, चारवटा पुल र एक कालोपत्र योजनासहित यहाँ नौ योजना रहेका छन् ।

आयोजनाका सूचना अधिकारी इञ्जिनियर बिष्णु चापागाईंले ती योजनामध्ये चारवटा ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको र पाँच योजना ठेक्का सम्झौताको चरणमा रहेको बताए।

यहाँ मुस्ताङको थासाङ - ४ स्थित कैकु खोला, थासाङ -२ को लार्जुङ खोला, जोमसोम - मुक्तिनाथ खण्डको पान्डा खोलामा पुल र म्याग्दीको राहुघाट खोलामा बेलिब्रिजका लागि ठेक्का सम्झौता भएको हो ।

आयोजनाका अनुसार मुस्ताङको थासाङ- ४ स्थित २० मिटर लम्बाइको कैकु खोला पुलको बाँकी निर्माणसम्पन्न गर्न रु पाँच करोड ३९ लाखमा बिके केसी, जिसी जेभी निर्माण कम्पनीसँग १३ फागुनमा ठेक्का सम्झौता भएको हो ।

थासाङ-४ लार्जुङ खोलामा निर्माणाधीन २० मिटर लामो पुलको अधुरो निर्माणसम्पन्न गर्न रु दुई करोड २२ लाखमा एसके धौलागिरी निर्माण सेवासँग ११ फागुनमा ठेक्का सम्झौता भएको थियो ।

यस्तै, पान्डा खोला पुलमा खोलाको धार एकीकृत गराउन नयाँ ठेक्का सम्झौता भएको हो । पान्डा खोला पुलमा पानीको सर्कुलर जोड्ने गरी खोला च्यानलाइजिङ गर्न ११ फागुनमा रु ५८ लाख ५७ हजारमा सोली थुम्का निर्माण सेवासँग ठेक्का सम्झौता भएको सूचना अधिकारी चापागाईंले बताए ।

राहुघाटमा अवस्थित बेलिब्रिज व्यवस्थापन तथा मर्मतका लागि बिआरटी साया जेभीसँग रु तीन करोड ३९ लाखमा १३ फागुनमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए । रासस 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार