कञ्चनपुर, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएका सम्झौता कार्यान्वयन गर्दै लैजाने बताएका छन् । महाकाली सन्धिदेखि विभिन्न समयमा भएका सहमति कार्यान्वयन गरिने उनको भनाइ छ ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढाउनेदेखि दोधारा चाँदनी नगरपालिकामा सिँचाइका लागि शारदा नहरबाट पानी उपलब्ध गराउनेदेखि डडेलधुराको परशुराम क्षेत्रमा महाकाली नदीमा पक्की पुल निर्माण र बैतडीको झुलाघाटमा पक्की पुल निर्माण लगायतका काम गर्ने विषयमा निरन्तर छलफल भइरहेको उनले बताए ।
'पञ्चेश्वर परियोजना ढिलो भइसकेको छ, भारत सरकारसँग यस विषयमा नियमित रुपमा कुराकानी भइरहेको छ, आइतबार सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको काम पनि छिट्टै अघि बढछ ।
उनले कैलालीको गेटामा यसै वर्षदेखि मेडिकल विश्वविद्यालयको काम सुरु गरिने पनि बताए । समारोहमा विभिन्न संकायमा उत्तीर्ण १ हजार ३७७ मध्ये उपस्थित भएका ३७२ विद्यार्थी दीक्षित भएका हुन् ।