हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ । बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन् । हिउँदमा हिमपात नभएपछि सेता हिमालहरु फुस्रा बन्दै गएका छन् भने पानी नपर्दा खेतबारीमा लगाएका खाद्यान्न लगायत तरकारी बाली ओइलाउन थालेका कृषकले बताएका छन् । माघ नसकिदै गर्मी बढेको र विगतका वर्षको तुलनामा जाडो कम भएको म्याग्दीको बेनी नगरपालिका २ का ८९ वर्षिय बेदप्रसाद उपाध्यायले बताए ।
जल तथा मौसम विज्ञान विभागले मङ्सिर १५ देखि फागुन १६ सम्मको हावापानी आकलन गर्दा औसतभन्दा कम पानी पर्ने र न्यूनतम्देखि अधिकतम तापक्रम बढ्ने पूर्वानुमान यस अघि नै गरेको थियो । हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण जल तथा मौसम विभागको थियो । तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नदेखिएपछि हिउँदे खडेरी पर्ने भन्दै विज्ञहरुले कृषि, जल, वन, ऊर्जालगायत क्षेत्रमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले यही अवस्था रहिरहने हो भने तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताए । अहिलेको अवस्थामा वर्षा र हिमपात भइहाल्ने लक्षण देखिदैन । सुख्खा खडेरीको लक्षण देखिएको छ । यद्यपि फेब्रुअरी नसकिएसम्म समग्र यो हिउँद कस्तो भयो भन्न मिल्दैन प्रवक्ता पोखरेलले बताए । हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण पर्यावरणीय सङ्कट देखिन थालेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।
हिमालमा हिउँको मात्रा घट्दै गएको छ । हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर (हिउँरेखा) तलमाथि हुने गरेकोले पर्यावरणीय सङ्कट बढ्दै जान थालेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका (इसिमोड) का वैज्ञानिकहरुले बताएका छन् । नेपालमा मुख्यालय रहेको इसिमोडले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अध्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ पर्ने र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घट्ने जनाएको थियो । हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाने तर समयमा हिमपात नहुने र भए पनि अत्यन्त कम मात्रामा हुने गरेकोले केही वर्ष अघिसम्म चाँदी जस्तै टल्कने सेता हिमाल पछिल्ला केही वर्षयता काला पहाडमा परिणत हुँदै जान थालेका इसिमोडमा कार्यरत वैज्ञानिक शेर मोहम्मद बताउँछन ।
पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको सङ्केत देखिएको छ । यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायका लागि खतराको घण्टी हो वैज्ञानिक मोहम्मदले बताए । इसिमोडका वैज्ञानिकले पानी अभाव, बाढी, खडेरीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन् । हिउँद याममा हिउँ पर्ने क्रम घटेको र हिमालय क्षेत्रको जमिनमा हिउँ धेरै समयसम्म रहिरहन नसक्ने समस्या देखिन थालेको वैज्ञानिकको भनाइ रहेको छ ।
म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भए पनि विगत केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको म्याग्दीकाए । हिउँदेयाममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रूखा र सुक्खा देखिनथालेका छन् भने हिमालहरू कालापत्थरमा परिणत भएका छन् । पहिले धौलागिरि हिमशृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा समेत हिमालहरु नाङ्गिएको देखिन्छ, तिलिजाले भने ।
पहिले चाँदीझैं टल्कने हिमाल अहिले उराठलाग्दा देखिनथालेका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणी सापकोटा बताए । असोज र कात्तिकमा अत्यधिक वर्षा हुनु, मङ्सिर, पुस र माघ महिनामा पनि कम हिउँ पर्नु, जलवायु परिवर्तनको प्रभाव मान्न सकिने सापकोटाको भनाइ छ । सुख्खा खडेरी बढ्ने सङ्केत विभागको पूर्वानुमान महाशाखाले हिउँदको बाँकी रहेको तीन साताको समयमा पनि वर्षा र हिमपातको मौसमी प्रणाली नरहेको बताएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले तत्कालै हिउँदे वर्षा र हिमपात हुने लक्षण नदेखिएकाले सुख्खा खडेरी बढ्न सक्ने बताए । nbsp;उनका अनुसार जलवायु परिवर्तन र तापक्रम बृद्धिका अब्जरभेसन आइरहेकाले मौसमी प्रणालीमा पनि परिवर्तन देखिएको हो । जलवायुविज्ञ डा धर्मराज उप्रेती पनि हिउँदको बाँकी अवधिमा पानी पर्ने सम्भावना न्यून देखिएको बताउनुहुन्छ ।
गत वर्ष पनि ८० प्रतिशत कम वर्षा भएको थियो । यसपटक पछिल्ला दुई वर्षको रेकर्ड तोडिने अवस्था भइरहेको छ, डा उप्रेतीले भने, कम वर्षा भएको यो लगातार तेस्रो हिउँद हो । फेब्रुअरी २८ पछि हिउँदे अवधि सकिएर प्रि-मनसुन शुरु हुन्छ, अब बाँकी तीन हप्ता हिउँदमा पानी पर्ने सम्भावना न्यून छ । डा उप्रेतीका अनुसार भूमध्य सागरको सतहको तापक्रममा आएको परिवर्तन र त्यसले सिर्जना गर्ने पश्चिमी वायु कमजोर भएसँगै अरब सागर र बंगालको खाडीमा पनि समुद्री सतहको तापक्रममा आएको परिवर्तनले पश्चिमी वायु कमजोर देखिएको छ । पश्चिमी वायु सक्रिय भएन भने वर्षा हुन नसक्ने उनको भनाइ छ ।
उनका अनुसार अहिलेसम्म ९.२ प्रतिशत मात्रै वर्षा भएको छ । हिउँदे अवधिमा औसतमा ६१ मिलिमिटर पानी पर्नुपर्ने हो तर ५.५ मिलिमिटर मात्रै परेको छ, त्यो पनि पश्चिमी भागमा मात्रै& डा.उप्रेतीले बताए । पारिस्थितिकीय प्रणालीमा असर जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण समग्र पारिस्थितिकीय प्रणालीमा असर पर्दै जान थालेको जानकारहरुले बताएका छन् । कृषि वैज्ञानिकहरुका अनुसार हिउँदमा पानी नपर्दा कृषि खेती प्रणाली, वन प्रणाली, ऊर्जा प्रणालीमा नराम्रो प्रभाव पर्दै गएको छ । पानीका स्रोतहरु सुक्दै गएका छन् । सिंचाइको प्रवन्ध नभएका ठाउँहरुमा खडेरीले खाद्यान्न उत्पादन घटेको छ ।
हिमाली क्षेत्रका जमिनमा माटोको अम्लिएपना बढ्दै जाँदा रैथाने बालीहरु लोप हुँदै गएका छन् । जङ्गली फलफूलको पाक्ने समय परिवर्तन भएको छ । कैयौं वनस्पति र जङ्गली पशुपंक्षीहरु देखिन छोडेका छन् । खोला तथा नदीहरुमा पानीमा मात्रा कम हुँदै गएको छ, हिमाली क्षेत्रको वातावरणीय अध्ययनमा सक्रिय प्रत्युष वाग्लेले भने, 'हिमाली क्षेत्रको पर्यावरणमा गम्भीर चुनैति उत्पन्न भएको छ । उनका अनुसार वनमा जंगली जनावरले पानी नपाउनेलगायत समस्या बढेका छन् ।\
जङ्गली जनावरहरु जंगल छोडेर गाउँ वस्तीतिर पस्न थालेका छन् । सुक्खा बढेका कारण वनमा आगलागी घटना भइरहेका छन् । शहरहरूमा प्रदूषण खतराको तहसम्म पुगेको छ । पानी नपर्दा हिमालमा हिउँसँगै तल्लो भेगमा पानीलाई असर गरिरहेको वाग्लेको भनाइ छ । हिउँ नपर्दा हिमाल नाङ्गा देखिएको, काला पत्थर देखिएको, ठाउँ-ठाउँमा उजाड भएको छ, यसको सीधै प्रभाव तल आएर पानीमा देखिन्छ । पानीका मुहान, स्रोत सुक्न थालेका छन् जसले गर्दा पिउने पानीको समेत संकट आउन सक्छ , वाग्लेले बताए ।
यस वर्ष (सन् २०२४ ) मा हिउँको मात्रा विगत २० वर्षको औसतको तुलनामा १८.५ प्रतिशतले कमी आएको इसिमोडले जनाएको छ । सन् २०१८ मा हिउँको मात्रा सर्वाधिक कम थियो भने यसवर्ष २०१८ को तुलनामा ०.५ प्रतिशतले मात्रै बढेको इसिमोडको तथ्याङ्कमा उल्लेख छ । गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू- भागमा पनि पाइन थालेका छन् । जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् ।
साथै पृथ्वीमा समयमै पानी नपर्ने, परे पनि कहिले लगातार परिरहने त कहिले पानी नै नपर्ने भइरहेको छ । यसरी कहिले अत्याधिक वर्षा भई धनजनको विनास हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वनजङ्गलनै सुक्ने अवस्था आइरहेको छ । जलवायु परिवर्तनकै कारण नयाँ- नयाँ रोगको देखिएका छन् । यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायतका वनस्पति पनि लोप हुने खतरा रहेको विभिन्न अध्ययनहरुले पनि पुष्टि गरेका छन् ।