सामान्यतया इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदान प्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो सूचना दिने अनलाइन प्रविधिको एकमुष्ट सामूहिक रुप पनि हो । सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर मध्यस्थता प्रविधि हो । कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदान प्रदान गर्न प्रयोग गरिने माध्यम हो । सामाजिक सञ्जाल एउटा यस्तो महत्वपूर्ण इन्टरनेट माध्यम हो । मिनेट सेकेन्डमै संसारमा कहाँ के भइरहेको छ, सबै घटना खबर थाहा पाउन सकिन्छ । यसकारण यसको सहज पहुँचका साथसाथै प्रयोग र प्रभावको दायरा पनि फराकिलो बन्दै गएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग र प्रभावका सन्दर्भमा पनि विभिन्न टीकाटिप्पणी, बहसहरु अनेकन कोण भइरहेको पाइन्छ । यसको दिन प्रतिदिनको विकास, स्वरुप र प्रयोगले समाजको विविध आयाम र पक्षहरुमा सकारात्मक तथा नकारात्मक अवधारणाहरु सार्वजनिक भइरहेका छन् सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि बढ्दो छ । यसले सामाजिक जीवनलाई नराम्ररी तरङ्गित पारेको छ ।
सामाजिक सञ्जाल के हो, के होइन, यसका फाइदा / बेफाइदा, सही प्रयोगलगायत विषयमा यहाँ उल्लेख गर्न खोजिएको छ । हात हातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले सामाजिक सञ्जालको प्रयोग पनि व्यापक छ । एक तथ्याङ्कअनुसार विश्वभर चार अरब ४८ करोड मानिसले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । यसको अर्थ विश्वको आधा व्यक्तिहरू सामाजिक सञ्जालमा भेटिन्छन् । ४.६६ अरबभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू भएको गुगलले देखाउँछ । जसमध्ये गुगल, फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र ट्विटर प्रयोगकर्ता रहेका छन् । सञ्जालहरूमार्फत जानकारी, विचार, रुचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा प्रदान गर्न मध्यस्थकर्ताको भूमिकामा सामाजिक सञ्जालहरूको उदय भएको हो । तर पछिल्लो चरण सामाजिक सञ्जाल असामाजिक बन्दै गएको छ ।
सामाजिक सञ्जाल भ्रम फैलाउने, व्यक्तिको समय र सिर्जना खोसिदिने र सूचनामाथि जासुसी गर्ने मतियार र हतियार बनेको छ । प्रयोगकर्ताहरु पनि आफनो अनुकूलका कुरा सुन्ने, र्हेर्ने तर फरक विचारलाई निषेध गर्ने भइरहेका छन् । सामाजिक सञ्जाल प्रतिक्रियात्मक र असङ्गठित हुन्छ यसले नीतिगत तहमा दबाब पनि दिइरहेको हुन्छ तर प्रत्यक्ष न्याय दिन भने सकिरहेको हुँदैन । डिजिटल युगमा सूचनाको विश्वसनीयता र सत्यताबारे पनि बहस भइरहेको छ । सञ्जालमा उल्लिखित भनाइ, तथ्याङ्क, स्रोत, तस्बिर आदि ठीक छन् वा छैनन् भनी परख गर्ने पाठक, दर्शक वा स्रोताको क्षमता पनि कमजोर छ । फेसबुक अहिले विश्वमै सबैभन्दा लोकप्रिय छ तथापि त्यो पनि हेरिनसक्नु हुन्छ ।
सामाजिक सञ्जालका फाइदा र बेफाइदा
सामाजिक सञ्जालका विभिन्न स्वरुप छन् । कुन प्लेट फार्म प्रयोग गर्ने ? आफ्नो योग्यतार दक्षता, पेसा÷व्यवसाय के हो रहाबि भइरहेको छ । सामाजिक सञ्जाललाई सदुपयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता छ । सामाजिक सञ्जालमार्फत हुने अराजकता, गैरकानुनी गतिविधिलाई कानुनी र नीतिगत रुपमै नियमन गर्न जरुरी छ । दुरुपयोग रोक्ने नाममा सरकारले पनि मनोमानी गर्न पाइँदैन । सामाजिक सञ्जालको प्रयोगमा सुधार गर्ने र दुरुपयोग रोक्नतर्फ सरोकारवालाको परामर्शमा साझा पहल थाल्नुपर्छ । स्कुले तहको पाठ्यक्रममै सामाजिक सञ्जाल के हो ? यसका फाइदा, बेफाइदा र दुरुपयोग भए के कारबाही गर्ने भन्ने विषय पनि पाठ्यक्रममा समेट्नु उचित हुन्छ ।
सरकारले हालै संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकका अधिकांश प्रावधानले सामाजिक सञ्जाललाई मर्यादित र व्यवस्थित गराउन खोजेको देखिन्छ ।
कसरी गर्ने सही प्रयोग ?
बेलायतमा गरिएको एक अध्ययनले सामाजिक सञ्जालको लत लागूऔषधको भन्दा पनि खतरनाक रहेको देखाएको छ । यसको प्रयोगले हाम्रो दैनिक व्यवहार र आचरणमा परिवर्तन ल्याइरहेको छ । हातमा स्मार्टफोन बोक्ने सामान्य नागरिकले हरेक १२ मिनेटको अवधिमा एकपटक सञ्जाललाई रिफ्रेस गर्ने गरेका छन् । अध्ययनअनुसार यसको लतमा फसेकाले त हरेक दुई तीन मिनेटको अवधिमा सामाजिक सञ्जाल चलाइरहेका हुन्छन् । धेरैजसो भ्रामक सूचना सामाजिक सञ्जालबाट नै फैलिइरहेको छ ।
नेपालमा गरिएको एक अध्ययनले सामाजिक सञ्जाल मिथ्या सूचना फैलाउने सशक्त माध्यम भएको देखाएको छ । सेन्टर फर मिडिया रिसर्च, नेपालले गरेको अध्ययनले नेपालमा ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले सामाजिक सञ्जालको माध्यमबाट मिथ्या सूचना प्राप्त गरेको देखाएको छ । सामाजिक सञ्जालको अति प्रयोग, गलत प्रयोग र असावधानीपूर्ण प्रयोगबाट बच्न उपाय जान्न जरुरी छ । कुनै पनि न्यायिक अभियानका लागि सामाजिक सञ्जाल एउटा औजार हो, तर यसको सही प्रयोग गर्न जानिएन भने घातक पनि हुन सक्छ । के उद्देश्यका लागि सामाजिक सञ्जालमा खाता खोलेको पहिल्यै स्पष्ट हुनुपर्छ । कुनै पनि नपत्याउने खालका घटना भएका सामग्री इन्टरनेटमा देख्ने, पढ्ने बित्तिकै तुरुन्तै विश्वास गरिहाल्न हुँदैन । व्यक्तिगत सूचना र वैयक्तिक गोपनीयताका कुरा नराख्ने, जुनसुकै लिङ्क नथिच्ने, नचिनेको साइटमा व्यक्तिगत सूचना, इमेल आदि नभर्ने । नत्र त्यसैले प्रोफाइल ह्याक गरी अरूसँग पैसा माग्न वा तपाईंको आवरणमा अरूलाई ठग्न सक्छ ।
सञ्जालमा कुनै कुरा लेख्नु वा पोस्ट गर्नुअघि आफैँले आफैँलाई प्रश्न सोध्न पनि जरुरी छ । सामाजिक सञ्जालमा यो प्रसङ्ग÷विषय राख्ने कि नराख्ने ? यो अहिल्यै नै राख्न उपयुक्त छ ? राखिएको सामग्रीले कसलाई फाइदा पुग्छ ? कुनै पनि सूचनालाई आलोचनात्मक तरिकाबाट हेर्न सक्नुपर्छ । त्यो सूचनाको स्रोत के हो ? कहाँबाट आयो ? कसले शेयर गरेको छ ? त्यो जाँचपड्ताल गरेर शेयर गर्नुपर्दछ । पुराना सामग्रीलाई नयाँ घटनाको भनेर राखिएका हुन सक्छन् । त्यसको पुष्टि नभई त्यसमा रियाक्सन गर्ने वा कमेन्ट लेख्ने काम पनि गर्नु हुँदैन । अहिलेको जमानामा हरेक व्यक्ति पत्रकार हो । सूचना अरू सामु पु¥याउने सन्दर्भमा धेरैका सामु सूचना दिन सकिन्छ ।
फेसबुक, ट्विटर, टिकटकलगायत धेरै प्रयोगकर्ता भएका सामाजिक सञ्जालमा तथ्य के हो, त्यो राखिदिन सकिन्छ । कुनै कुरा सामाजिक सञ्जालमा फैलियो भने, त्यो किवर्ड सर्च गरेर पनि सत्य थाहा पाउन सकिन्छ । सम्प्रेषित सामग्री सही छन् कि छैनन्, परीक्षण गर्नुपर्छ । यसको लागि अरू मिडियाहरू पनि अध्ययन गर्नुपर्छ । नकारात्मक तथा कानुन विपरीत गतिविधिलाई निरुत्साहित गर्दै व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पहलकदमी लिन जरुरी छ । हरेक प्रयोगकर्ताले भाइरल हुनु मात्रै ठूलो कुरा होइन, सूचना प्रणाली प्रयोग गर्दा मर्यादा, शिष्टता र सामाजिक सद्भावको कुरालाई पनि मनन गर्नुपर्छ । सञ्जाललाई आफ्ना विचार, भावना र अनुभव आदानप्रदान गर्न, नयाँ प्रविधि र सिकाइ प्राप्त गर्न, जनचेतना बढाउन र बृहत्तर हितमा उपयोग गर्ने बानी बसालौं ।
(लेखक : नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ) रासस