२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रिय गौरवको आयोजना

काठमाडौँ- तराई - मधेस द्रुतमार्ग : ' प्रधानमन्त्रीले गरे समस्याबारे छलफल '

बुधवार , माघ २३, २०८१


काठमाडौँ, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ - तराई/ मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे आज जानकारी लिएका छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री तथा यातायात देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितामा आयोजनाबारे छलफल भएको हो ।

छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु बिन्दु खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखिको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो ।

ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीय काम हुने विश्वास व्यक्त गरे । सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या समाधानको प्रस्ताव ल्याउन उनले आग्रह गरे ।

उक्त द्रुतमार्ग कूल ७० दशमलव ९७ किलोमिटर रहेको छ । रु दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना विसं २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६ र वित्तीय प्रगति ३९ दशमलव ७४ रहेको जङ्गी अड्डाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार