राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा औपचारिक रूपमा सोमवार शपथ लिएपछि उनी ह्वाइट हाउस सर्ने छन्। उक्त दिनमा औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीहरूको 'परेड' र साँझमा औपचारिक 'बल डान्स' पनि हुने छ।
ट्रम्पपछि उपराष्ट्रपति जेडी भान्सले पनि सोमवार शपथ लिने छन् र उनीहरूको नयाँ प्रशासनिक राज औपचारिक रूपमा सुरु हुने छ। ट्रम्पले अमेरिकाको राष्ट्रपतिको भूमिका औपचारिक रूपमा सुरु गर्ने उक्त दिनबारे थाहा पाउनुपर्ने कुराहरू यस्ता छन्।
शपथ लिने दिन के के समारोह हुने छ ?
त्यो दिन औपचारिक कार्यक्रम गरिन्छ जसले पुरानो राष्ट्रपतिको कार्यकाल अन्त्य र नयाँ राष्ट्रपतिको प्रशासनको थालनी भएको जनाउँछ।
यो वाशिङ्टन डीसीमा सरकारका नेताहरूबीच सत्ता हस्तान्तरण सबैभन्दा माथिल्लो स्तरको कार्यक्रम हो।
यो कार्यक्रमको मुख्य हिस्सामा राष्ट्रपति निर्वाचित व्यक्तिले शपथ लिँदा यो वाक्य वाचन गर्नुपर्छ :
म यो कुराको गम्भीरतापूर्वक शपथ लिन्छु कि म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदलाई निष्ठापूर्वक निर्वाह गर्ने छु र आफ्नो पूर्ण क्षमताअनुसार अमेरिकाको संविधानको संरक्षण, बचाउ र रक्षा गर्ने छु।'
भान्सले पनि उपराष्ट्रपतिको पद सम्हाल्नुअघि शपथ लिने छन्। शपथ लिने दिन हुने कार्यक्रममा साङ्गीतिक प्रदर्शनीहरू, भाषण, परेड र उत्सव मनाउन विशेष किसिमको नृत्य समेत हुने छ।
भाषणका क्रममा ट्रम्पले आफ्नो निर्वाचन क्षेत्रलाई सम्बोधन गर्ने छन् र आउँदो चार वर्षका आफ्ना लक्ष्यहरू तय गर्ने छन्।
यो कहिले हुन्छ ?
ट्रम्पले दोस्रो पटक गर्न लागेको शपथ कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक सेन्ट जोन्स गिर्जाघरमा हुनेछ र त्यसपछि विशेष चियापान कार्यक्रम हुने छ।
यूएस क्यापिटलको वेस्ट लनमा हुने मुख्य कार्यक्रम १४ : ३० जीएमटीमा हुने छ र त्यसमा कार्यक्रमको सुरुवाती भाषण र साङ्गितीक प्रदर्शनीहरू हुने छ। त्यसपछि ट्रम्प र भान्सको शपथ र उद्घाटन भाषण हुने छ।
ट्रम्प त्यसपछि सिनेट चेम्बर नजिकै रहेको कक्षमा जान्छन् र आफ्नो नयाँ प्रशासन सुरु गर्न मुख्य कागजातहरूमा हस्ताक्षर गर्छन्।
कङ्ग्रेसनल कमिटीले त्यसपछि दिउँसोको भोजनको कार्यक्रम आयोजना गर्ने छ र त्यसमा ट्रम्प पनि सहभागी हुने छन्। क्यापिटलबाट जाने परेड पेनसिल्भेनिया एभेन्यु हुँदै ह्वाइट हाउससम्म पुग्छ र त्यसपछि सुरु हुनेछ।
उनले ती तीनवटै कार्यक्रममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
हामीले नयाँ प्रशासन सुरु हुने कार्यक्रम कसरी हेर्न सक्छौँ ?
कङ्ग्रेसका सांसदहरूले उक्त कार्यक्रममा भाग लिन केही सङ्ख्यामा टिकटहरू प्राप्त गर्छन् जुन उनीहरूले आफ्ना क्षेत्रका मतदाताहरूलाई वितरण गर्न सक्छन्। यी टिकटहरू निःशुल्क हुन्छन् तर पाउन भने चुनौतीपूर्ण हुन्छ।
अमेरिकीहरूले टिकटका लागि आफ्ना सांसदसँग प्रत्यक्ष माग गर्न सक्छन्। यदि व्यक्तिगत रूपमा उपस्थित हुन नसके टाढैबाट हेर्न सकिने थुप्रै उपायहरू छन्। ह्वाइट हाउसले कार्यक्रम प्रत्यक्ष प्रशारण गर्ने छ।
बीबीसीले आफ्नो च्यानलमा पनि प्रत्यक्ष प्रसारण गर्ने छ। तपाईँले हाम्रो वेबसाइटमा पनि हेर्न सक्नुहुन्छ र लाइभ पेजमा हामी पछिल्ला विवरणहरू, विश्लेषण र मुख्य क्षणहरू हुने बित्तिकै ताजा खबरहरू राख्नेछौँ।
समारोहमा को- को सहभागी हुन सक्छन् ?
स्थानीय र सङ्घीय अधिकारीहरूले करिब २,००,००० मानिसहरू वाशिङ्टन डीसीमा उपस्थित हुने ठानेका छन्। त्यसरी उपस्थित हुनेमा उनका समर्थक र प्रदर्शन गर्नेहरू दुवै हुन सक्छन्।
थुप्रै अमेरिकी सिनेटर र सांसदहरू, लगायत आउँदो प्रशासनका अतिथिहरू पनि त्यहाँ उपस्थित हुने छन्। ट्रम्प, भान्स र उनीहरूका परिवार, बाहिरिँदै गरेका राष्ट्रपति र उपराष्ट्रपतिहरू उपस्थित हुने छन्। यसको अर्थ हामीले राष्ट्रपति बाइडन र उनी पत्नी जिल बाइडन अनि उपराष्ट्रपति कमला ह्यारिस र उनका श्रीमान्लाई पनि त्यहाँ देख्नेछौँ।
पूर्व राष्ट्रपतिहरू र उनीहरूका श्रीमतीहरू पनि उक्त समारोहमा प्राय उपस्थित हुने गर्छन्। यो वर्ष जर्ज र लउरा बुशले पनि उपस्थिति जनाउने ठानिएको छ मिसेल ओबामाले भने उपस्थिति नजनाउने ठानिएको छ।
कसले प्रदर्शन गर्नेछन् ?
उक्त समारोहमा पूर्व अमेरिकन आइडल विजेता तथा गायिका केरी अन्डरवूडले अमेरिका द ब्यूटिफूल गीत गाउने कार्यक्रम तय गरिएको छ। 'म मेरो देशलाई माया गर्छु र समारोहमा गाउन भनिएको कुरालाई मैले सम्मानको रूपमा लिएकी छु। यो ऐतिहासिक कार्यक्रमको म सानो हिस्सा हुन पाउनेछु,' सोमवारको विज्ञप्तिमा न्डरवूडले भनिन्।
'एकता र भविष्यका लागि हामी सबै एक हुनुपर्ने बेला उक्त प्रस्ताव स्वीकार गर्न सक्नुले मलाई असाध्यै खुसी दिलाएको छ।' अमेरिकी डिस्को समूह द भिलेज पिपलले पनि ट्रम्प उपस्थित हुने साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने घोषणा गरेको छ।
चुनावी अभियानका बेला ट्रम्पले आफ्ना र्यालीहरूमा उक्त समूहका वाइएमसीए र माचो म्यान गीतहरू बजाएका थिए। 'हामीलाई थाहा छ कि यो कुरा सुन्दा केहीलाई खुसी नलाग्न सक्छ, तर हामी विश्वास गर्छौँ कि सङ्गीतलाई राजनीतिसँग नजोडी प्रस्तुति दिनुपर्छ,' उक्त ब्यान्डले सोमवार आफ्नो फेसबुक पेजमा लेखेको छ।
'हाम्रो गीत वाइएमसीए एक विश्वव्यापी गीत हो र हामीले चाहेको उम्मेदवार पराजित भए पनि यो गीतले उथलपुथल र विभाजनयुक्त चुनावी अभियानपछि देशलाई एक ठाउँमा ल्याउन सहयोग पुर्यायो।'
ट्रम्पका लामो समयदेखि मित्र र सहकर्मी गायिका ली ग्रीनवूड र ओपेरा गायक क्रिस्टोफर माचियोले पनि प्रस्तुति दिनेछन्।
- बीबीसी न्यूज, वाशिङटन