२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

तराई मधेश क्षेत्र

 चिकित्सकको आग्रह  : "   चिसो बढ्दै गयो,  सतर्कता अपनाउनुस् "

शुक्रवार , पौष १९, २०८१

 

महेन्द्रनगर (धनुषा), पुस । धनुषालगायत मधेशका जिल्लामा बाक्दो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थालेको छ । 

चिसोबाट बच्न न्यायो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् । 

विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सक चन्देश्वर महासेठको सुझाव छ । 

“यसका साथै बाथ तथा गेठियाका रोग लागेका बिरामीलाई चिसोका कारण थप समस्या बढ्ने जोखिम हुन्छ । चिसोबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरिर ढाकिने गरी न्यानो लुगा लगाउन आवश्यक छ”, महासेठले बताए । 

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा जामुनप्रसाद सिंहले केही दिनदेखि यहाँ अत्यधिक चिसो बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरे ।  

“अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् । जनकपुरधाम क्षेत्रमा बिहानदेखि कुहिरो लाग्ने गरेको छ । यो क्रम अझै केही दिन कायम रहे थप चिसो बढ्ने अवस्था छ । त्यसैले विशेष सतर्कताका लागि हाम्रो आग्रह छ”, उनले थपे ।  

चिसो बढ्दै गएपछि प्रदेश सरकारले दाउरा तथा कम्बल वितरणका लागि पहल गरिरहेको जनाइएको छ । 

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्रकुमार यादवले सबै जिल्लामा कम्बल पठाइसकिएको बताए । 

चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार