काठमाडौँ, पुस । सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले नेता तथा कार्यकर्ता माँझ आफ्नो नेतृत्वमा कांग्रेसलाई एक्लै चुनाव लड्नसक्ने बनाउने बताएका छन ।
सुदूरपश्चिममा पार्टीका नेता कार्यकर्ताहरूसँगको शनिबार भएको भेटघाटमा नेता कोइरालाले अब कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने र एक्लै चुनाव लड्ने घोषणा गरे ।
कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन । न्याय हुन्छ । त्यसको जिम्मा मैले लिन्छु,' कोइरालाले अघि भने, ' म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु ।'
उनले विगतमा सुदूरपश्चिममा नेता कार्यकर्ताहरूमाथि निरन्तर अन्याय हुँदै आएको भन्दै अब उचित अवसर पाउने बताए ।
नेता कोइरालाले १५ औँ महाधिवेशनबाट सबै नेता कार्यकर्ताहरूलाई न्याय हुने वचन समेत दिए । तपाईहरुको पीडा म बुझ्छु । अब १५ औं महाधिबेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिनँ । तर यसका लागि तपाईहरुको सहयोग चाहिन्छ,' उनले भने ।
उनले १५ औँ महाधिवेशन समयमै हुनुपर्ने र महाधिवेशन समयमा नभए पार्टी कमजोर हुने धारणा राखे । शनिबार धनगढीमा हुने एक कार्यक्रममा सहभागी हुन शुक्रबारै त्यहाँ पुगेका कोइरालाले नौ वटै जिल्लाका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।