२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाल - चीन उच्चस्तरीय वार्ता

नेपालको - 'बीआरआई फ्रेमवर्क' प्रस्ताव : " चीनले जनाएन सहमति "

भएन हस्ताक्षर, आयोजनागत रूपमा मात्रै समझदारी

मंगलवार , मंसिर १८, २०८१

 

बेइजिङ, मंसिर । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर हुन सकेन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि बीआरआई फ्रेमर्वमा हस्ताक्षर हुन नसकेको हो ।

नेपाली पक्षले तयार पारेको सहकार्य फ्रेमवर्कभित्रका केही शब्दहरुमा चिनियाँ पक्ष सहमत नभएपछि प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान यस पटक उक्त मस्यौदामा हस्ताक्षर नभएको भ्रमणमा सहभागी एक अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

कान्तीपुर लेख्छ, आयोजनागत रुपमा मात्रै सहमति तथा समझदारी पत्रमा हस्ताक्षर भएको हो । ती आयोजनामा के के काम गर्ने भन्ने विषय आ-आफ्नै हिसाबले लागू हुनेछ, भ्रमणमा सहभागी एक अधिकारीले भने, यी आयोजनाहरुको कार्यान्वयन भने बीआरआईअन्तर्गत हुने भनिएको छ ।

९ बुँदे सहमतिपत्रमा हस्ताक्षरपछि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता गरेका छन् । करिब २० मिनेट दुई जनाबीचमा मात्रै छलफल भएको छ, छलफल सकिएलगत्तै भ्रमणमा सहभागी ती अधिकारीले भने ।

सीसँगको भेटवार्तामा पनि बीआरआई सम्झौताको विषयले स्थान नपाएपछि यस पटक ओलीको चीन भ्रमणका दौरानमा सहकार्य फ्रेमवर्कमा हस्ताक्षर नहुने भएको छ ।

नेपालले सन् २०१७ मा बीआरआईको समझादारी पत्रमा हस्ताक्षर गरेको थियो । चीनले यसपटक नेपालका प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा बीआरआई कार्यान्वयन कार्ययोजनामा हस्ताक्षरको प्रस्ताव गरेको थियो ।

चीनले पठाएको कार्यायोजनाको नाम परिवर्तन गरेर बीआरआई सहकार्य फ्रेमवर्क भन्दै नेपालले ऋण नलिने गरी प्रस्ताव फिर्ता पठाएको थियो ।

नेपालले पठाएको उक्त फ्रेमवर्कभित्रका ;ऋण , लगानी अनुदान जस्ता शब्दहरुमा चिनियाँ र नेपाल पक्षबीच लामो छलफल भएको थियो । नेपालले ऋण नलिने र चीनले लगानी भन्ने शब्द राख्नुपर्ने जनाएपछि आयोजनागत रुपमा मात्रै समझदारी तथा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार