२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

उपप्रधानमन्त्री सिंहले भने   : ' राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव '

राजनीतिक स्थायित्व दिँदै देशलाई समृद्धितर्फ लैजान कांग्रेस - एमालेबीच सहमति

शुक्रवार , मंसिर १४, २०८१

 

दमौली (तनहुँ), मङ्सिर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता भए मात्रै विकास निर्माणको कामले गति लिने बताएका छन ।  

तनहुँको भानु नगरपालिका–१ भन्सारस्थित नयाँ सहर विकास आयोजनाको एकीकृत भवनको आज उद्घाटन गर्दै मन्त्री सिंहले देशलाई आर्थिक समृद्धिमा लैजान दुई ठूला दल मिलेर सरकार बनाएको बताए ।  

छिनछिनमा सरकार परिवर्तन हुँदा विकासको काम अलपत्र पर्न थालेको महसुस भएपछि देशको विकासका लागि पनि दुई दल मिल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

उनले भने, “वर्षमा दुई÷तीन वटा सरकार परिवर्तन हुँदा जनताको पक्षमा काम गर्न नसकिएको धेरै वर्षको अनुभवबाट महसुस भएको छ । राजनीतिक स्थायित्व दिँदै देशलाई समृद्धितर्फ लैजान नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएर सरकार बनेको हो ।”

वर्तमान सरकारको प्रमुख कार्यभार आर्थिक समृद्धि र जनताको पक्षमा काम गर्नुरहेको बताउँदै उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ र संस्थागत गर्दै संविधानबाट प्राप्त अधिकारलाई प्रवर्द्धन गर्दै अगाडि बढ्नुपर्छ ।”

हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउने कार्यक्रम ल्याउने सरकारको दायित्व रहेको उल्लेख गर्दै त्यसतर्फ सरकार केन्द्रित रहेको मन्त्री सिंहको भनाइ छ । 

मन्त्री सिंहले रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताउँदै हरेक नगरपालिकाले विद्यालयमा रोजगारमूलक शिक्षाको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

उनले भने, “परम्परागत शिक्षाले मात्रै समृद्धि सम्भव हुँदैन । शिक्षालाई रोजगारसँग जोड्नुपर्छ ।” मन्त्री सिंहले भानु नगरपालिकाले सञ्चालन गर्न लागेको जग्गा वर्गीकरणको कार्यक्रमलाई मन्त्रालयले सहयोग गर्ने बताए ।  

भानु जन्मस्थल निरीक्षण

उपप्रधान सिंहले आदिकवि भानुभक्त आचार्यको जन्मस्थान तनहुँको चुँदीरम्घाको निरीक्षण गरेका थिए ।  

मन्त्री सिंहले भानु नगरपालिका–४ चुँदीरम्घास्थित भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय भवन निरीक्षण गर्नुका साथै भानुभक्त आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरे । 

मन्त्री सिंहले भानुजन्मस्थलमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्वनगरप्रमुख उदयराज गौली, भानु जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले स्वागत गरेका थिए । 

निरीक्षणपश्चात् मन्त्री सिंहले भानु जन्मस्थललाई साहित्यिक पर्यटनको केन्द्र बनाउनुपर्ने र त्यसमा सरकारले सहयोग गर्ने बताए ।  

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्तको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा उनको जोड थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार