२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

कांग्रेस - एमाले सत्ता गठबन्धन

नेता महरले भने : " सरकार ७ बुँदे सहमतिअनुसार अघि बढ्नुपर्छ "

' सत्ता सहयात्रा गर्दाको सहमतिको असर पार्टीलाई पर्नु हुँदैन'

मंगलवार , मंसिर ४, २०८१

 

इलाम, मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले उपनिर्वाचनमा जित हासिल गर्दै पार्टीले जनताको विश्वास आर्जन गर्नुपर्ने बताएका छन् ।

उनले कांग्रेस र एमालेको सत्ता गठबन्धन ७ बुँदे सहमति अनुसार चल्नुपर्ने बताउँदै सरकारमा गरिरहेको सहयात्राको असर पार्टीलाई भने पर्न दिन नहुने बताए ।

पार्टीको १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस जिल्ला कार्यसमिति इलामद्वारा आयोजित कार्यक्रममा महरले आम निर्वाचनको दुई वर्षपछि यही मंसिर १६ मा हुने उपचुनाव ' मिनी ' भएको भन्दै कांग्रेसले आफूलाई सक्षम साबित गर्न जितको विकल्प नभएको बताए।

मंसिर ५ को उपनिर्वाचन मिनी चुनाव हो । आम निर्वाचन भएको ठीक दुई वर्षपछि उपनिर्वाचन हुँदैन । कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो । कांग्रेसले आफ्नो हैसियत राख्न जनताको विश्वास आर्जन गर्न जरुरी छ। त्यसका लागि पार्टी एकबद्ध भएर सक्रिय हुनुपर्छ । कोही कतै चुक्नु हुँदैन ।

हामी चुकेनौं भने जित सुनिश्चित छ, उनले भने। पार्टीभित्रका आन्तरिक विकृति हटाउने र आफैँ शक्तिशाली पार्टी बनेर एक्लै चुनाव लड्नका लागि वातावरण सिर्जना गर्ने उद्देश्यका साथ थालिएको १०० दिने अभियानको बीचमा उपनिर्वाचन भइरहेको उनको भनाइ छ ।

उपनिर्वाचनको परिणामले १०० दिने कार्यक्रम कति प्रभावशाली बन्न सफल भयो भन्ने झल्किने उनले बताए । कांग्रेसबाहेक देशका पुराना राजनीतिक शक्ति सधैँ अस्थिरतामा रमाए ।

हाम्रो धेरै समय उनीहरूलाई समेट्दै देशमा स्थिरता कायम गर्नमै बित्यो । नयाँ राजनीतिक शक्तिको रूप उदय हुँदा नै उदांगो भइसकेको छ । हामीले उनीहरूका पात्र, प्रवृत्ति र चरित्र देखिसकेका छौं, उनले भने, 'अब कांग्रेसले जित्नुको विकल्प छैन ।'

राजनीतिक स्थिरता कायममा ठूलो भूमिका खेलेको कांग्रेस अब जनताको विकास र समृद्धिको अभीष्ट पूरा गर्न केन्द्रीत हुनुपर्छ । पार्टीको संगठन चुस्त दुरुस्त बनाउने, जनताका गुनासा सुन्ने र आफूलाई परिष्कृत गर्दा सहजै शक्तिशाली पार्टी बन्न सकिने महरको भनाइ छ ।

सरकार पनि आफ्नो प्रतिबद्धताप्रति जिम्मेवार हुनुपर्ने महरको भनाइ छ । ‘हिजो कांग्रेस एमाले गठबन्धन हुँदा सात बुँदे सहमति भएको थियो ।

सहमति अनुरूप कति काम भए / भएनन् ? बेला बखत त्यसको समीक्षा गर्दै सहमति अनुरूप पनि काम गर्दै अगाडि बढ्नुपर्छ । सत्ता सहयात्रा गर्दाको सहमतिको असर पार्टीलाई पर्नु हुँदैन, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार