जनकपुरधाम, कात्तिक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकले कांग्रेस सरकारमा रहेको अनुभूति हुने गरी काम गर्ने बताएका छन् ।
जनकपुरमा रहेको मधेस प्रदेश कांग्रेस पार्टी कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनले राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको भन्दै सरकारले नागरिकको चाहना अनुसार काम गर्ने बताए ।
राजनीतिक स्थायित्व बिना विकास र समृद्धि सम्भव नरहेको भन्दै सिंहले कांग्रेस र एमाले गठबन्धनले स्थिरतासँगै विकास निर्माणलाई प्राथमिकतामा राखेको बताए । उनले अहिले आइरहेका चुनौती सामना गर्न सक्नेगरी कांग्रेस पार्टीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
प्रदेशले राम्रो काम गरे पार्टी बलियो हुने भन्दै उनले मधेस प्रदेश समितिलाई संगठन निर्माणमा लाग्न पनि आग्रह गरेका थिए ।
त्यस्तै, नागरिकलाई सहज रूपमा सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।
सहरी विकास मन्त्रालयले निर्माण गरेको मिथिला अन्तरगृह परिक्रमा विश्रामस्थल तथा सभाहल उद्घाटन कार्यक्रममा सिंहले सेवा प्रवाहलाई सहज बनाउन निर्देशन दिएका थिए ।
जनतालाई अनावश्यक रूपमा दुःख दिने काम तपाईंहरूको गतिविधिबाट नहोस् । सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने जति कामहरू छन् छिटोछरितो रूपमा गर्नुहोला,ु उनले भने ।
योजना तय गर्दा आवश्यक पर्ने पूर्वाधारहरूलाई प्राथमिकताका राखेर स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिहरू सबैसँग सल्लाह गरेर काम अघि बढाउँदा राम्रो हुने पनि सिंहको भनाइ थियो ।