२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सहकारी ठगी, प्रकरण

रबिलाई भैरहवा ल्याइयो  : ' बयानका  लागि सरकारी वकिलको कार्यालयमा'

मंगलवार , कार्तिक २७, २०८१

 

भैरहवा, कात्तिक । सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याइपुर्‍याइएको छ । 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई केही बेरअघि भैरहवा ल्याइएको हो । 

पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि पोखराको मौसम खराब भएकाले उडानमा ढिलाइ भएको थियो । 

पोखराबाट १२ बजे उडेको जहाज भैरहवामा १२ बजेर २८ मिनेट जाँदा अवतरण गरेको थियो । 

रुपन्देही प्रहरीका अनुसार लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगिएको छ । 

रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरका अनुसार सकेसम्म आजै लामिछानेको बयान सक्ने तयारी छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ ।

लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालते प्रहरीलाई अनुमति दिएको छ ।

 तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो

त्यही अनुसार कात्तिक २ गतेदेखि एकै प्रकृतिको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार बयानका लागि भैरहवा ल्याउन लागिएको हो । 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानबाट खुलेको छ । 

लामिछानेसँगै रूपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल बञ्जाडे जोशीलाई पनि यसअघि नै भैरहवा ल्याएर बयान गरेर कास्कीमै लगिएको थियो ।

स्रोतका अनुसार लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलन र गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित ७० भन्दा बढी प्रश्न तयार गरिसकेको छ । थप प्रश्न बयानकै क्रममा पनि हुने स्रोतले बतायो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार