२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

'महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि, चुनौती अझै छन् ' :  परराष्ट्रमन्त्री

सोमवार , कार्तिक २६, २०८१

 

काठमाडौँ, कात्तिक । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौती पनि रहेको उल्लेख गरेका छन ।  

युएन वुमनद्वारा आज राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा राणाले ३० वर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरुको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएका बताएकी हुन । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “मलाई लाग्छ नेपालका महिलाहरुले अहिले प्राप्त गरेका संवैधानिक लगायतका अधिकारको बिजारोपण ३० वर्षअघिको बेइजिङ सम्मेलनमा भएको हो । 

सो चौथो विश्व महिला सम्मेलनले लैङ्गिक समानता, महिला सशक्तीकरण, महिलाविरुद्धका हिंसाको उन्मूलनलगायतका १२ ओटा क्षेत्रका प्रतिबद्धता अघि सारेको थियो ।” 

सो बेइजिङ सम्मेलनमा आफ्नो सक्रिय सहभागिता रहेको स्मरण गर्दै उहाँले त्यसयता नेपालका महिलाहरुले अघि बढाएको अभियानले देशमा महिलाका क्षेत्रमा धेरै काम भएका तथा प्रजनन् स्वास्थ्यदेखि धेरै अधिकारहरु महिलाले संवैधानिक रुपमै प्राप्त गरेको बताए ।  

सो सम्मेलन पछिका ३० वर्षमा महिला अधिकार र लैङ्गिक समानताका क्षेत्रमा उल्लेखनीय प्रगति भएपनि अझै धेरै काम गर्न भने बाँकी रहेको मन्त्री डा राणाको भनाई थियो । 

उनले भने, “महिला र यहाँका बालिकाहरूले आर्थिक सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा समान पहुँच आदि क्षेत्रमा अहिले पनि चुनौतीहरूको सामना गर्नु परिरहेको छ । यसबारेमा पनि सोच्नुपर्छ र तिनको समाधानका लागि सरकार र नागरिक समाज एकताबद्ध भइ अघि बढ्नुपर्छ ।” 

मन्त्री डा राणाले बालिकाहरूको विद्यालय भर्ना, श्रम बजारमा महिलाको सहभागिता, मातृ स्वास्थ्य, बालबिवाहमा न्यूनिकरण एवं सम्पत्तिमा महिला अधिकार आदि क्षेत्रका सूचकाङ्कमा नेपालले प्रगति गरेको उल्लेख गरे ।  

उनले हाम्रा नीतिहरू लैङ्गिक दृष्टिकोणलाई मूलप्रवाहीकरण गर्नुका साथै सीमान्तकृत समुदायका महिला, आदिवासी, दलित र अपाङ्गता भएकाप्रति केन्द्रित रहेको जानकारी दिए ।  

मन्त्री डा राणाले संवैधानिक र कानुनी प्रत्याभूतिका कारण नेपालमा पनि राजनीतिमा महिला सहभागिता बढ्दै गएको स्पष्ट गर्दै तर पनि महिलामाथि हुने गरेका विभेद र डिजिटल युगमा बढ्दो भ्रमपूर्ण सूचनाले महिलालाई बढी तारो बनाउने गरेको आफूले पाएको धारणा राखे ।  

आफ्नै उदाहरण प्रस्तुत गर्दै उनले भने, “बढ्दो डिजिटल युगसँगै गलत सूचनाहरुले महिलालाई बढी शिकार बनाएको मेरो अनुभव छ । जस्तो कि यहाँ मेरा बारेमा पनि कतिधेरै गलत सूचनाहरु सप्रेषण गरिएका थिए । 

विश्वका महिला नेतृहरुको पनि यस्तै अनुभव रहेछ । म हालै सहभागी भएको क्यानडा र संयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका महिला नेतृहरुले पनि यो अनुभव सेयर गरेका थिए । ”

उनले यी सबैखाले चुनौतीविरुद्धमा लडेरै अघि बढ्नुपर्ने भनाइ राखे । उनले भने, “महिला सशक्तीकरणका लागि हामीले बाटो बनाएका छौँ । हामीले दिशा पनि निर्धारण गरेका छौँ । 

हामीले कामका लागि गति सिर्जना गरेका छौँं । तर पनि कहिलेकाहीँ यो बाटोबाट पछाडि धकेल्ने प्रयासहरू हुने भएकाले प्राप्त गरेका उपलब्धिहरूको रक्षागर्दै थप उपलब्धिका लागि अझ अघि बढ्दै जानुपर्छ ।” 

सबै खाले चुनौतीहरुको पहिचान गरी कति बर्षमा के कसरी समाधान गर्ने भन्ने स्पष्ट खाका एवं कार्ययोजना नै बनाएर अघि बढ्नुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार