काठमाडौँ, कात्तिक । जलवायु परिवर्तनले महिला, किशोरीको शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरणमा प्रतिकुल असर परेको सम्वन्धमा सरोकालावाबीच छलफल गरिएको छ ।
राष्ट्रिय महिला आयोगद्वारा मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा सहभागीले जलवायु परिवर्तनको असरले पानीको मुहान सुक्दा महिलाले घरधन्दाका लागि पानी बोक्नै घन्टौं समय दिनुपर्ने, पानीेका अभावमा कृषि उत्पादनमा असर, किरा बढि लाग्दा विषादी प्रयोग गर्नुपर्नेलगायतका विविध माध्यमबाट महिला बढि प्रभावित भएको बताएका हुन् ।
आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगले महिला हिंसा न्युनिकरणका लागि गरिने विविध कार्यक्रममध्ये जलवायु परिवर्तनका कारण महिला समस्यामा परिरहेकाले यस विषयमा पनि सरोकारवाला निकायको ध्यानाकर्षणका लागि छलफलको आयोजना गरिएको बताए ।
उनले सदियौँदेखि महिला घर धन्दा, कृषि कार्यमा संलग्न हुन्छन्, पानीका लागि टाढा, टाढा जानुपर्ने, तरकारी, खाद्यान्नमा किरालाई विषादि हाल्दा र विषादी हालेको खाद्य पदार्थ, तरकारी सेवने क्यान्सरजन्य रोगबाट महिला बढि प्रभावित भइरहेको बताए ।
सो अवसरमा आयोगका सचिव रेखा कँडेलले जलवायु परिवर्तनका असरले बढिरहेको तापक्रमले गर्दा श्रमिकको काम गर्ने क्षमता, समयमा कमि आउने, नयाँ रोगहरु बढेर श्रमिकको स्वास्थ्यमा असर पर्ने, रोजगारीमा असर, पानीलगायतको अभावले बसाई सर्नुपर्ने समस्याले महिला र बालबालिका जोखिममा परेको बताए ।
महिला वन प्राविधिक सुजिता ढकालले जनलवायु परिवर्तनको असरबारे कार्यपत्र प्रस्तुत गर्दै अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको कम आम्दानीका कारण नदि किनार, बनको छेउलगायत जोखिमयुक्त क्षेत्रमा बसोबास हुने कारणले बाढि पहिरोलगायतका प्राकृतिक विपदमा पनि महिला तथा श्रमिकले बढि क्षति व्योहोर्नुपर्ने बताए ।
उनले अध्ययनका क्रममा भेटिएका महिलासँग जलवायु परिवर्तनले उनीहरुको जीवनमा पुर्याएको असरबारे सोध्दा, पानी लिन आठ घण्टासम्मको समय खर्च गर्नु पर्दा साना छोरा छोरीको हेरचान गर्न नपाउने, बालबालिका स्कुल पठाउन समय नहुनेलगायत स्वास्थ्य अवस्थासमेत कमजोर भएको पाईएको बताए ।
उनले जलवायु परिवर्तनका कारण प्रभावित महिलालाई पनि नीतिगत तहमा सहभागी गराएर यस समस्या समाधानका लागि लैङ्गिकमैत्री बजेट, कार्यक्रम ल्याएर सामूहिकरुपमा उपाय खोज्नुपर्नेमा जोड दिए ।
महिला आयोगको नीति शाखा प्रमुख लक्ष्मी पराजुली आचार्यले आयोगका विविध गतिविधीबारे जानकारी गराउँदै जलवायु परिवर्तनले निम्त्याएका समस्याबारे छलफल गर्दै कार्वन उत्सर्जनमा शुन्य योगदान दिने मुलुक नेपालले भोगिरहेको प्रभावबारे आवाज उठाउन आवश्यक रहेको दावी गरे ।