२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

नेपाल विद्युत् प्राधिकरण

ऊर्जा मिश्रण अवधारणा  : "  कार्यान्वयन गर्न  ६४ सौर्य ऊर्जा परियोजना छनोट "

सोमवार , कार्तिक २६, २०८१

 


काठमाडौँ, कात्तिक । ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ ।

प्राधिकरणले प्रतिस्पर्धाका आधारमा ती कम्पनी छनोट गरेको जनाएको छ । 

ऊर्जा मिश्रण अवधारणा कार्यान्वयन गर्ने र हिउँदको ऊर्जा माग सम्बोधन गर्ने लक्ष्यका साथ सौर्य परियोजनालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न मार्ग प्रशस्त गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार तराईका विभिन्न जिल्लामा सौर्य परियोजनालाई अगाडि बढाउन लागिएको हो । प्राधिकरणले एक हजार मेगावाट क्षमता बराबरका आयोजना अगाडि बढाउन लागेको हो ।

प्राधिकरणले यसअघि आठ सय मेगावाट बराबरको सौर्य परियोजना अगाडि बढाउने निर्णय गरेको थियो । त्यसमा २० प्रतिशत थप गर्ने निर्णय भएको थियो ।

 प्राधिकरणले छनोट गरेका आयोजनाको क्षमता एकदेखि ५० मेगावाट बराबर छन् । हाल छनौट भएका ६४ परियोजनाको कूल क्षमता भने नौ सय ७४ मेगावाट बराबर छ ।

प्राधिकरणले प्रतिकिलोवाट चार रुपैयाँ ९९ पैसादेखि पाँच रुपैयाँ ५५ पैसासम्मको दर तय गरेको छ । 

विहान ६ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्ने गरी प्राधिकरणले सौर्य ऊर्जा उत्पादक कम्पनीसँग आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ । 

हिउँदमा नदीको जलस्तर घटन गई ऊर्जा उत्पादन केन्द्रहरुले कम क्षमतामा मात्रै बिजुली उत्पादन गर्ने भएकाले सौर्य परियोजनाको अवधारणा अगाडि सारिएको हो । 

दिनभरको माग सम्बोधन गर्न सौर्य ऊर्जा प्रभावकारी हुने ठहरसहित तत्कालका लागि झण्डै एक हजार मेगावाट बराबरको बिजुली प्रणालीमा जोडन लागिएको हो ।

दिनको माग धान्न वैकल्पिक व्यवस्था गर्न सकिए साँझ वा रातको माग भने जलविद्युत् आयोजनाले सम्बोधन गर्ने विश्वास लिइएको छ । 

सरकारले ठूला जलाशयुक्त आयोजनाको अवधारणा अगाडि सारेपनि निर्माण सम्पन्न गर्न लामो समय लाग्ने देखिन्छ ।

केही जलाशययुक्त आयोजनाको प्रक्रिया अगाडि बढाइएको भएपनि लगानीको ढाँचा लगायतका विषयमा सहमति जुटन नसक्दा निर्माणमा जान ढिलाइ भइरहेको छ । 

जानकारहरुका अनुसार एकदेखि डेढ बर्षभित्रमा सौर्य परियोजनाले बिजुली उत्पादन गर्ने भएकाले प्रणाली व्यवस्थापन गर्न सहज हुने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार