२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

'आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छाैँ ' : अर्थमन्त्री डा. वाग्ले

बिहिवार , श्रावण २८, २०८३

 

काठमाडौँ, साउन ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएका छन ।

आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. वाग्लेले सो धारणा व्यक्त गरेका हुन । 

 

उनले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर अत्यावश्यक दैनिक खर्च चलाउनुपर्ने विगतको अवस्था अन्त्य गर्न करको दायरा फराकिलो बनाउने नीति लिइएको स्पष्ट पारे।

जनताको विकाससम्बन्धी आकांक्षाको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र दातृ निकायको ऋणसमेत महँगो बन्दै गएको स्थितिमा मुलुक स्वयं धनी हुनुको विकल्प नरहेको उनले बताए।

'हामीले नियमित दायित्वका लागि पनि ऋण लिनुपर्ने अवस्था छ।

राज्यको अत्यावश्यक दायित्व १ हजार ३५० अर्ब रुपियाँ रहेकोमा सरकारको आम्दानी १ हजार २५० अर्ब रुपियाँको हाराहारीमा मात्र छ,' अर्थमन्त्री डा. वाग्लेले भने, ' यसैले करको दायरा फराकिलो बनाउँदै कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका हौँ। '

करको दायरा विस्तार गर्दा सर्वसाधारणमा पर्न सक्ने आर्थिक भारप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उनले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताए।

सरकारले २ हजार १२४ अर्ब रुपियाँको बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहन गरी ६६ खर्ब रुपियाँको अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको उनले प्रस्ट पारे। 

साथै, छिट्टै गैरआवासीय तथा प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्ने अनुकूल वातावरण तयार गरिने जानकारीसमेत उनले दिए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार