२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 नेपाल - चीन सीमा

कोरला नाकामा अध्यागमन कार्यालय  : ' व्यापारिक कारोबार सजिलो हुने '

मंगलवार , कार्तिक १३, २०८१

 

गलेश्वर (म्याग्दी),  कात्तिक ।  चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । 

सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने उनले बताए ।  

विशेषगरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवत जावत तथा व्यापारिक कारोबार सजिलो हुने आशा गरिएको छ ।

अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सकिने सहायक प्रजिअ सुवेदीको भनाइ छ । “हाल मुस्ताङवासी मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आवत जावत गर्ने गरेका छन् । 

अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपाली भिसा लगाएर नाका वारपार गर्न पाउने छन् । चिनियाँ पर्यटक पनि भिसा लगाएर यही नाका हुँदै मुस्ताङ आउन पाउनेछन्”, उनले भने ।

उनका अनुसार अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ । 

चिनियाँ भन्सारको आमनेसामने पारेर १० कोठे अध्यागमन तथा सुरक्षा पोष्टको भवन बनाइएको छ । आवश्यक पूर्वाधार निर्माण गरी कोरला नाकाबाट एकीकृत सेवा दिने तयारी गरिएको छ ।

 नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालयसँगै राख्ने तयारी भएको सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार