२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अमेरिकी राष्ट्रपतीय निर्बाचन

अमेरिकी निर्बाचन मत सर्वेक्षण भन्छ : " कमला ह्यारिस अगाडि ! "

के अमेरिकाले प्रथम महिला राष्ट्रप्रमुख पाउला त ?

सोमवार , कार्तिक १२, २०८१

संयुक्त राज्य अमेरिकामा आगामी नोभेम्बर ५ मा नयाँ राष्ट्रपति छान्न निर्वाचन हुँदैछ। यो निर्वाचनमा सुरुमा सन् २०२० मा झैँ जो बाइडन र डोनल्ड ट्रम्प उम्मेदवार बनेका थिए।

तर गत जुलाई महिनामा बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारे। के अमेरिकाले प्रथम महिला राष्ट्रप्रमुख पाउला त ? कि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पुनः सत्तामा फर्किएलान् ?

अमेरिकी राजनीतिमा यो अहिले चासोको मुख्य विषय बनेको छ। मतदानको दिन नजिकिँदै गर्दा हामी निर्वाचनसँग सम्बन्धित विविध पक्ष अनि ह्वाइटहाउसका लागि हुँदै गरेको प्रतिस्पर्धामा निर्वाचन प्रचारप्रसारले पार्ने प्रभावलाई नियमित रूपमा नियालिरहने छौँ।

 

राष्ट्रिय मतसर्वेक्षणमा कसको अग्रता ?

कमला ह्यारिस गत जुलाई महिनाको अन्त्यतिर प्रतिस्पर्धामा आएदेखि नै राष्ट्रव्यापी सर्वेक्षणहरूका औसत मानमा उनलाई डोनल्ड ट्रम्पभन्दा केही अगाडि देख्न थालियो। उनले निरन्तर आफ्नो अग्रता कायम राखेकी छन्। 

निर्वाचन अभियान थालेपछि सुरुका केही साताहरूमा उनीप्रति समर्थन बढेको देखियो। अगस्ट महिनाको अन्तिमसम्म आइपुग्दा उनले झन्डै चार प्रतिशतको अग्रता कायम गरिन्। तर सेप्टेम्बरको पूर्वार्धदेखि दुई उम्मेदवारहरूप्रति समर्थन व्यक्त गर्ने मतदाताको सङ्ख्या तुलनात्मक रूपमा स्थिर छ।

सेप्टेम्बर १० मा ह्यारिस र ट्रम्पबीच भएको बहसपछि पनि त्यसमा ठूलो परिवर्तन देखिएको छैन। टेलिभिजनबाट प्रत्यक्ष प्रसारित उक्त बहस सात करोड मानिसले हेरेका थिए। विगत केही दिनयता प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ। 

यस्ता सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियताको झल्को दिने भए पनि तिनकै आधारमा निर्वाचनको परिणाम यस्तै हुन्न भन्न चाहिँ सकिँदैन। किनभने संयुक्त राज्य अमेरिकामा 'इलेक्टोरल कलेज' भनिने ' निर्वाचक मण्डल' मा आधारित प्रणालीले निर्वाचनको परिणामको छिनोफानो गर्छ।

त्यसअन्तर्गत राज्यहरूलाई त्यहाँको जनसङ्ख्याका आधारमा निश्चित सङ्ख्यामा मतभार अर्थात् 'इलेक्टोरल कलेज मत' दिइएको हुन्छ।

देशभरिका सबै राज्यसँग कुल ५३८ इलेक्टोरल कलेज मत हुन्छ। निर्वाचन जित्न २७० इलेक्टोरल कलेज मत पाउनैपर्छ। सर्वसाधारण मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन्, राष्ट्रिय स्तरमा हैन। दुई राज्यमा बाहेक अन्यत्र सर्वाधिक मत ल्याउने उम्मेदवारले उक्त राज्यका लागि तोकिएको सबै मतभार अर्थात् इलेक्टोरल कलेज मत हात पार्ने प्रावधान छ।

अमेरिकामा ५० राज्य छन्। ती राज्यले नै समग्र निर्वाचनको परिणाम तलमाथि पारिदिन्छन्। ती राज्यलाई ' ब्याटलग्राउन्ड स्टेट' (सङ्ग्रामभूमि राज्य) अथवा 'स्विङ स्टेट भन्ने गरिन्छ।

' स्विङ स्टेट ' मा कसले जित्ला ?

यो निर्वाचनमा सातवटा राज्यमा दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ। मतसर्वेक्षणहरूमा ती राज्यमा कुनै पनि उम्मेदवारले स्पष्ट र निर्णायक अग्रता कायम गरेको देखिँदैन।

कमला ह्यारिस प्रतिस्पर्धामा आएदेखिको प्रवृत्ति हेर्दा राज्यहरूमा देखा परेका भिन्नताबारे बुझ्न सकिन्छ। तर राष्ट्रिय मतसर्वेक्षणभन्दा राज्यस्तरीय सर्वेक्षणको सङ्ख्या कम भएकाले हामीसँग पर्याप्त तथ्याङ्क उपलब्ध छैन।

अनि प्रत्येक सर्वेक्षणमा केही त्रुटि हुने सम्भावना पनि हुन्छ। अर्थात् सर्वेक्षणले देखाउने सङ्ख्या वास्तविक सङ्ख्याभन्दा केही धेरै वा केही थोरै हुन सक्छ।

अगस्ट महिनादेखि एरिजोना, जोर्जा र नोर्थ क्यारलाइनामा एकै उम्मेदवारको अग्रता छैन। ती तीन राज्यमा केही सातादेखि ट्रम्प झिनो मतले अगाडि देखिएका छन्। नभाडा राज्यमा पनि अगाडि हुने उम्मेदवार एकै छैनन्। त्यहाँ अहिले ह्यारिसलाई ट्रम्पभन्दा केही अगाडि देखिन्छ।

मिशिगन, पेन्सिल्भेनिआ र विस्कन्सिनमा अगस्ट महिनादेखि ह्यारिस अगाडि छिन्। कहिलेकाहीँ उनी ट्रम्पभन्दा दुई वा तीन प्रतिशतले अगाडि हुन्छिन्। तर केही दिनदेखि प्रतिस्पर्धा बढेको देखिन्छ।

अहिले पेन्सिल्भेनिआमा ट्रम्पले झिनो अग्रता पाएका छन्। सन् २०१६ मा ट्रम्प विजयी हुनुअघि यी तीनवटै राज्यलाई डेमोक्र्याटिक पार्टीको गढ मानिन्थ्यो। सन् २०२० मा जो बाइडनले ती राज्यमा आफ्नो पार्टीको प्रभाव पुनः स्थापित गरे। यसपालि ह्यारिसले ती राज्यलाई आफ्नो पक्षमा पार्न सकिन् भने उनलाई चुनाव जित्न सजिलो हुने छ।

उम्मेदवार नबन्ने घोषणा गर्नुअघि सातवटा 'स्विङ स्टेट' मा जो बाइडन आफ्ना प्रतिस्पर्धी ट्रम्पभन्दा औसतमा पाँच प्रतिशतले पछाडि रहेको मतसर्वेक्षणहरूले देखाएका थिए। तर उनको ठाउँमा ह्यारिस उम्मेदवार बनेपछि डेमोक्र्याटिक पार्टीका पक्षमा समर्थन बढेको देख्न थालियो।

पेन्सिल्भेनिआ राज्यमा बाइडन ४.५ प्रतिशतले पछाडि थिए। सात राज्यमध्ये सर्वाधिक इलेक्टोरल कलेज मत (१९) भएकाले दुवै उम्मेदवारका लागि पेन्सिल्भेनिआ महत्त्वपूर्ण छ। सो राज्यमा निर्वाचन जित्ने उम्मेदवारलाई परिणाम आफ्नो पक्षमा पार्न आवश्यक २७० मतभार पुर्याउन सहज हुन्छ।

औसत मान कसरी निकालिन्छ ?

धेरै सर्वेक्षण कम्पनीहरूले अमेरिकाभरि र ' ब्याटलग्राउन्ड' राज्यहरूमा गर्ने प्रत्येक मतसर्वेक्षणबाट उक्त वेबसाइटले तथ्याङ्क सङ्कलन गर्छ। सर्वेक्षित मानिसको सङ्ख्या अनि सर्वेक्षण गरिएको मिति र माध्यम (फोनबाट, टेक्स्ट मेसेजबाट, अनलाइन माध्यमबाट (आदि) जस्ता विवरण खुलाउने कम्पनीबाट मात्र उक्त वेबसाइटले विवरण लिन्छ

के यी मतसर्वेक्षणलाई विश्वास गर्न सकिन्छ ?

कडा प्रतिस्पर्धा हुने सात राज्यमा कमला ह्यारिस र डोनल्ड ट्रम्प अहिले दुई प्रतिशत मतले मात्र अगाडिपछाडि भएको देखिन्छ। यस्तो परिस्थितिमा निर्वाचनको परिणाम कसको पक्षमा जान्छ भन्न सकिँदैन।

सन् २०१६ र २०२० मा सर्वेक्षणहरूले ट्रम्पको पक्षमा जाने समर्थनलाई कम आकलन गरेका थिए। सर्वेक्षण कम्पनीहरू अहिले त्यस्तो त्रुटि सच्च्याउने प्रयासमा छन्। 

उनीहरू आफूले प्रस्तुत गर्ने परिणाममा मतदान गर्ने जनसङ्ख्याको संरचना प्रतिबिम्बित गराउन खोज्दै छन्। त्यस्तो परिमार्जन गर्न त्यति सजिलो छैन। त्यसैले सर्वेक्षकहरूले नोभेम्बर ५ मा मतदान गर्न को जान्छ भन्ने जस्ता पक्षहरूको विवेचना गर्न आफ्नो ज्ञान र विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। - बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार