काठमाडौँ, असोज । चालु आर्थिक वर्ष २०८१/ ८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।
गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो।
राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ।
अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो। गत साउन महिनामा रु एक खर्ब ३६ अर्ब ९३ करोड विप्रेषण भित्रिएको केन्द्रीय बैङ्कको तथ्याङ्क छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार ५८३ रहेको राष्ट्र बैङ्कले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७४ हजार ४५५ / ३२ हजार चार रहेको थियो। रासस