न्युयोर्क, अमेरिका, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल असर छिमेकी हुन चाहेको बताएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयमा वर्ल्ड लिडर्स फोरम अन्तर्गत नेपालको लोकतन्त्र र आर्थिक सम्बृद्धिको बाटोका विषयमा प्रस्तुति दिँदै प्रधानमन्त्री ओलीले नेपालले छिमेकीविरुद्ध केही पनि नगर्ने उल्लेख गरेका हुन् ।
उनले भने, ' हामी राम्रो छिमेकी हुन चाहन्छौं । खराब होइन । हामी कतै पनि ढल्कन चाहन्नौं ।'
कान्तीपुर लेख्छ, प्रधानमन्त्री ओलीले नेपालको दुई छिमेकीसँग लामो समयदेखि सम्बन्ध रहेको उल्लेख गरे । ;हाम्रो इतिहासदेखि नै जनस्तरमा सम्बन्ध रहँदै आएको छ ।
हाम्रो दुवै छिमेकीसँगको मित्रता ध्वस्त पार्न सकिन्न,' उनले भने, ' दुई जना साथीहरू सँगै सुत्दा खुट्टा तलमाथि पर्न सक्छ । तर उनीहरू फरक - फरक सुत्दा समस्या हुँदैन । परिवारमा सानातिना समस्या हुन सक्छ । तर त्यो ठूलो होइन । छिमेकबीचको सम्बन्ध पनि त्यही हो ।'
प्रधानमन्त्री ओलीले सुरुआतमा नेपालको इतिहासदेखि हालसम्मको बाटोको राजनीतिक इतिहासलाई प्रस्तुति दिएका थिए । सुरुआतमा करिब १२ मिनेट प्रस्तुति दिएका ओलीले त्यसपछि ४५ मिनेट अन्तरक्रिया गरेका थिए । त्यसपछि कोलम्बिया विश्वविद्यालयकै ७ जना विद्यार्थीहरुले सोधेको प्रश्नको उत्तर दिएका थिए ।
ओलीले कसैले पनि छिमेकीलाई बदल्न नसक्ने प्रष्ट पारे । हामी छिमेकी बदल्न सक्दैनौं । नेपालको छिमेकीहरुले पनि उनीहरुका छिमेकी बदल्न सक्दैनन्,’ उनले भने, ' जे - जस्ता समस्याहरू छन्, त्यसलाई छलफल र संवादको माध्यममार्फत गर्नु पर्छ । त्यो गर्दा तथ्य र प्रमाणहरूलाई हेरेर गर्नु पर्ने हुन्छ ।'
ओलीले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रियता जस्तो विषयमा भने कुनै पनि सम्झौता नहुने उल्लेख गरे ।