काठमाडौँ, असोज । संबिधान संसोधनको बहस चलिरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन हुने बताएका छन् ।
उनले भने, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली जस्ता संविधानका आधारभूत विशेषताहरूमा अहिले कुनै संशोधन हुँदैन ।'
लमजुङको बेंसीसहरमा शनिबार एमाले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सञ्चारमन्त्री गुरुङले भने, कांग्रेस–एमालेको यही सरकारले संविधान संशोधन गर्छ ।
संविधान जारी भएपछि प्रत्येक १०- १० वर्षमा संविधानको पुनरावलोकन गर्नसक्ने संवैधानिक व्यवस्था छ ।
आवश्यकता अनुसार राष्ट्रिय सहमतिमा संविधानका केही बुँदाहरुमा संशोधन हुन्छ,' उनले भने, 'तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मुलभूत विशेषताहरूमै परिवर्तन हुन लागेको होइन ।'
त्यस्तो कसैले गर्न सक्दैन । खासगरी संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा अहिले छलफलै हुँदैन, यसलाई हटाउने कुरा त धेरै टाढाको हो ।'
उनले स्थायी सरकारका लागि संविधान संशोधन आवश्यक भएकाले त्यसका लागि केही फेरबदल आवश्यक रहेको सबैले महसुस गरेको बताए । उनले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक रहेको बताए ।