धनगढी, असोज । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी ठगी प्रकरणमा संसदीय समितिले बुझाएको प्रतिवेदनलाई विधि प्रक्रिया अनुसार सरकारले कार्यान्वयन गर्ने बताएका छन ।
प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसदीय समितिले हिजोमात्र प्रतिवेदन बुझाएकाले अध्ययन गरेर सरकार कार्यान्वयनमा लग्ने बताएका हुन ।
नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सिंहले संविधानको प्रधावकारी कार्यान्वयन र आर्थिक गतिविधिलाई चलायमान बनाउन दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए ।
“सरकार घरी–घरी परिवर्तन हुँदा जनतामा नैराश्यता पैदा भएको छ । राजनीतिक अस्थिरता कायम थियो” उप्रधानमन्त्री सिंहले भने, “मुलुकमा राजनीतिक स्थायित्वका लागि दुई ठुला पार्टी मिली सरकार बनाएर काम अगाडि बढाएका छौं ।”
नेपाली कांग्रेसको नेतृत्वमा सबै दलले मिलेर बनाएको संविधान अझ प्रभावकारी र कार्यान्वयनका लागि सहज बनाउन सबैसँग छलफल गरेर संशोधनको काम अगाडि बढाइने सिंहको भनाइ छ ।
उनले भने, “संशोधन एकैचोटी हुँदैन । सबैसँग छलफल गरेर आवश्यकतानुसार हुन्छ ।” उपप्रधानमन्त्री सिंहले अधिकार कटौतीका लागि नभइ कार्यान्वयनमा सहजताका लागि संविधान संशोधन गरिने स्पष्ट पारे ।
मुलुकमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर गलत भाष्य निर्माण गर्न खोजिएको उनको भनाइ छ ।
व्यवस्था परिवर्तनसँगै मुलुकमा विकास निर्माण, शिक्षाको गुणस्तरलगायतमा धेरै परिवर्तन आएको बताए ।
“केही परिवर्तन भएन भन्ने कुरा गलत हो” उपप्रधानमन्त्री सिंहले भने, “मुलुकमा परिवर्तन नभएको होइन । परिवर्तन भएको छ । तर जति हुनु पर्ने हो, त्यति भएको छैन ।”