सङ्खुवासभा, भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने बताएका छन । गृहजिल्ला सङ्खुवासभामा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
उर्जामन्त्री खड्काले जनतासँग छलफल, परामर्श गरी समायानुकूल हुनेगरी देशको आवश्यकताअनुसारको संविधान संशोधन हुने बताए ।
उनले संविधानका केही कारणले अहिलेको अवस्थामा आइपुगिएको निष्कर्ष दुई ठूला राजनीतिक दलहरुले निकालेको भन्दै संविधानमा भएका कमी, कमजोरीलाई सच्याउने प्रतिबद्धता जनाए ।
उनले भने, ‘‘अहिले सरकार खासगरी दुई वटा ठूला दलहरु मिलेर र केही दलहरुलाई साथमा लिएर सरकार बनेको छ । यो सरकार स्थायी ढङ्गले पूर्ण कार्यकालसम्म रहने कुरा यहाँहरुलाई म निवेदन गर्न चाहन्छु ।
यसमा कुनै भ्रम पाल्नुपर्ने, दुविधा पाल्नुपर्ने ठाउँ नरहेको कुरा राख्न चाहन्छु । चुनौतीहरु छन् । निर्वाचनपछि पटक पटक सरकारको फेरबदल र जनता असन्तुष्ट रहेको कुरा यी ठूला दुई दलहरुलाई अनुभूति छ ।’’
उनले वर्तमान सरकार दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको उल्लेख गर्दै स्थायी ढङ्गले पूर्ण कार्यकालसम्म रहने दाबी गरे ।
उनले जनतालाई अनुभूति हुने, न्यायोचित ढङ्गले देखिने गरी काम गर्न दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताए ।
ऊर्जामन्त्री खड्काले भने, ‘‘विगतमा पनि यि दुई ठूला दल मिलेर काम गरेपछि मात्रै यो देशमा परिवर्तन आयो । यस पटक पनि दुई ठूला दललाई यही अनुभूति भयो, अब जनतालाई धेरै धैर्य धारणा गर्ने अवस्था नदेखिएपछि जनताको जिम्मा लिने ठूला दलहरुले जनतालाई अनुभूति हुने, न्यायोचित ढङ्गले देखिने गरी अब काम गर्नुपर्ने आवश्यकता रह्यो । केही समस्या छन् । संविधानमा पनि समस्या छन् ।
संविधानका केही कारणले हामीलाई यो अवस्थामा ल्याएको भन्ने ठूला दलहरुलाई लागेको छ । यो जनतासँग छलफल गरी, आवश्यक परामर्श गरी, समयानुकूल हुनेगरी देशको आवश्यकताअनुसारको संविधान संशोधन हुने कुरा आग्रह गर्न चाहन्छु । त्यसका लागि यी ठूला दलहरुको आवश्यकता भएको हो ।’’
मन्त्री खड्काले विकास निर्माणको जनताको चाहनालाई सम्बोधन गर्न सरकार बनेको भन्दै यसमा ढिलासुस्ती र आलटाल गर्ने छुट नरहेको बताए । उनले अब आर्थिक क्रान्तिको अगुवा कांग्रेसले गर्ने पनि दाबी गरे ।