चितवन, भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सबैको साझा घर रहेको भन्दै बिग्रिन लागेको घर सबै मिलेर सम्हाल्नुपर्ने बताएका छन् ।
सोमबार चितवनमा कांग्रेसले ‘जननायक वीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा गरेको विशेष सम्मान कार्यक्रममा महामन्त्री थापाले कांग्रेस सबैको घर भएको र आफूहरूले त्यसलाई बिग्रन नदिने बताए ।
'घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ । बिग्रन लागेको घर हामी समाल्छौँ,' उनले भने ।
महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाए।
निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्याउन आवश्यक रहेकामा उनले जोड दिए।
'अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्नसक्ने गरी सङ्गठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने छ । गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको छ । त्यसैले एकपटक सबैले आफूलाई सच्याउने सङ्कल्प लिएर अघि बढौँ,' उनले भने ।
उनले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धीकरणको बाटोमा अघि बढेको भन्दै अब विगतमा जस्तो पार्टी माथि बिग्रिँदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्गठनलाई एकताबद्ध बनाएर पार्टी आफ्ना विचार प्रष्ट राखेर जनतामाझ जानुपर्ने बताए ।
उनले भने, 'सरकारमा रहेका साथीहरूले पार्टीसँगको परामर्शमा मन्त्रालयबाट काम गर्ने र बाहिर रहेका साथीले खबरदारी जारी राख्नुपर्ने छ ।'
यसले राम्रो काम गर्नका लागि सधैँ उत्प्रेरित गर्छ, पार्टीको साख बढ्छ र यसो गरेमा मात्र बिपीको सच्चा कार्यकर्ता बन्न सकिन्छ ।'
मन्त्री पौडेलले पार्टी महामन्त्री थापा स्वास्थ्यमन्त्री हुँदा अगाडि सारेका योजनालाई कार्यान्वयनमा लैजान आफूले भूमिका खेल्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू उमा रेग्मी, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्वपार्टी सभापतिद्वय विकास कोइराला, जीतनारायण श्रेष्ठले पार्टीलाई बलियो बनाउन सबैले आफ्नो ठाउँबाट इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए ।
पार्टीका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा एक सय ७४ जना नेताहरुलाई सम्मान गरिएको थियो । उनीहरूलाई मरणोप्रान्त, विशिष्ट र विशेष सम्मान प्रदान गरिएको हो ।