सुर्खेत, भदाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताएका छन्।
पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत आएका प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन्।
उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रस्ट रहेको उल्लेख गर्दै अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानबिनलाई सामसुस पार्ने खेल भइरहेकाले यस विरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने बताए ।
अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्र गरिएका उल्लेख गर्दै उनले सच्चिने होइन भने सदन र सडक दुवै ठाउँबाट आन्दोलन अघि बढाउने बताए ।
सरकार पहिलो र दोस्रो दल मिलेको संसारको संसदीय इतिहास नभएको उल्लेख गर्दै उनले गलत कुरालाई चोखाउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए ।
भदौ ११ मा आफूले संसद्मा गरेको सम्बोधनले उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डाफोर गरेको उल्लेख गर्दै उनले गलत कामको विरोध गर्न सय दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको उनले स्पष्ट गरे ।
अहिले सदनमा चलिरहेको ‘हिंसा’ सम्बन्धी विवादका सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘एमालेका साथीहरूले त्यसरी नबोलेको भए हुन्थ्यो, कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई उहाँहरूले राम्रोसँग व्याख्या गर्नुभएकै हो। अझ जसले हिंसा भन्ने शब्द प्रयोग गरे, उनले जनयुद्धको प्रशंसा नै गर्थे।
विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जाने गरी त्यस्ता अभिव्यक्ति नदिन म सम्बन्धित साथीहरूलाई सचेत गराउन चाहन्छु।'
सबै खालका परिवर्तन माओवादीकै एजेण्डा भएकाले यसलाई जोगाउने कुरा पनि माओवादीकै भूमिका बढी भएको औँल्याउँदै उनले माओवादीको महत्त्व र भूमिकालाई मिनिमाइज गर्ने गरी अभिव्यक्ति नदिन आग्रह गरे।
माओवादी फुट्छ भन्ने हल्ला निराधार भएको र पछिल्ला बैठकहरूमा भइरहेका खुला र स्पष्ट बहसले सबै आशङ्का अन्त्य गरेको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउँदै विगतमा विभाजन भएका दलहरूलाई समेत एकताबद्ध गर्ने काममा पार्टी अघि बढेको जानकारी दिए।
‘पार्टी फुट्छ कि भनेर जो हल्ला फैलाइएको थियो, हाम्रो पार्टीले त्यसलाई सर्वसम्मत रूपमा खारेज गरेको छ ।’
उनले भने, ‘केही मानिसहरूले डिजाइनअनुसार यस्तो हल्ला फैलाएका हुन्। सबै प्रदेशमा पुग्दा यो भ्रम पूर्ण रूपमा अन्त्य भइसक्ने छ।’