हेटौँडा, भाद्र । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागू गर्नुपर्ने बताएका छन ।
बिहीबार हेटौँडामा आयोजित लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको बागमती सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री काफ्लेले एकमुष्ट कर प्रणालीमा समेट्न नसके यातायात क्षेत्रमा सुधार गर्न नसक्ने बताएका छन ।
उनले भने, ‘सार्वजनिक यातायातमा विद्यार्थीलाई भाडादर छुटको व्यवस्था विद्यार्थी आन्दोलनको बलमा स्थापित भएको हो। यो शतप्रतिशत कार्यान्वयन हुनुपर्छ। यस क्षेत्रमा देखिएका हरेक समस्या समाधानका लागि सकारात्मक रूपमा काम गर्न मन्त्रालय तयार छ।’
सार्वजनिक सवारीसाधनको न्यूनतम मापदण्ड तोकिनुपर्ने र लोकतन्त्रमा समस्याको समाधान घटना घट्नुभन्दा सम्भावित घटनाको परिकल्पना गरेर त्यसलाई न्यूनीकरण गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए ।