२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल कम्युनिष्ट पार्टी माओवादी

अध्यक्ष दाहालले भने :   " अबको प्राथमिकता सरकारभन्दा पार्टी र विचार "

सोमवार , भाद्र १०, २०८१

 

कास्की, भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको अबको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी संगठन निर्माण र विचारको विकास भएको बताएका छन् । 

कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको सोमबार समापन गर्दै अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

' हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो '  उनले भने । 

अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलब्धिको रक्षा अन्यबाट सम्भव नरहेको बताए ।

उनले भने, ' परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनःसङ्घर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ ।' 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष दाहालले बताए । 

उनले पार्टीलाई एकतावद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए । ' अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो '  उनले भने । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार