जनकपुरधाम, साउन । नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विमलेन्द्र निधिले वर्तमान गठबन्धनको भविष्य सुरक्षित रहेको बताएका छन ।
बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता निधिले कांग्रेस र नेकपा (एमाले) को वर्तमान समीकरणको भविष्य सुरक्षित रहको बताएका हुन ।
वर्तमान सरकार टिकाउ हुने र विसं. २०८४ सालसम्म वर्तमान सरकार टिक्ने उनको भनाइ छ । उनले भने, “अहिलेको गठबन्धन २०८४ सालसम्म निरन्तरता पाउनेछ र यस सरकारलाई कांग्रेसले पूर्णरुपमा सहयोग गर्नेछ ।”
यस्तै, अहिलेको सरकारमा कांग्रेस सहभागी योजना नरहेकाले वर्तमान सरकारमा जाने नजाने कुरालाई गम्भीरतापूर्वक नलिएको नेता निधिको भनाइ छ ।
यसैगरी, मधेश प्रदेश सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको जानकारी दिदै नेता निधिले भने, “कांग्रेसले अहिलेको जनमत पार्टीको नेतृत्वको मुख्यमन्त्रीलाई समर्थन गरेको छ, कांग्रेसले पाउने मन्त्रालयबारे छलफल पनि हुँदैछ । छलफलबाट मन्त्रालय टुङ्गो लाग्छ ।”
उनले भने, मन्त्रालय निश्चित भएपछि कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लाग्छ ।