सुनसरी, असार । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले सरकार परिवर्तनको विषयलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।
आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको १०१ औँ जन्मोत्सवको अवसरमा कोइरालाको व्यत्तित्व विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता निधिले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार परिवर्तन हुनुलाई सामान्यरुपमा लिनुपर्ने बताए ।
शनिबार मात्रै प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न भक्तपुरस्थित बालकोट पुगेका थिए ।
देउवासँग के विषयमा ओलीको छलफल भएको हो स्पष्ट नभइसकेको अवस्थामा निधिको यो भनाइलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
नेता निधिले सरकार परिवर्तनलाई सामान्यरुपमा लिनुपर्ने बताएपनि कांग्रेस र एमाले मिलेर सरकार बन्न सक्ने सम्भावनाको बारेमा भने केही बोलेनन् ।
निधिले आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले कांग्रेस अब २०८४ सालको निर्वाचनमा केन्द्रित हुने बताए ।
कांग्रेसमा स्थापना कालदेखि नै अहिलेसम्म गुटै(गुट रहेको बताउँदै अब गुटलाई न्यूनीकरण गर्दै प्रतिपक्षमा बसेर संगठन बलियो पार्नुपर्ने बताए ।
निधिले मुलुकमा गणतन्त्र र शान्तिप्रक्रिया कायम गर्न नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति गिरिजा प्रसाद कोइरालाको ठुलो भुमिका रहेको बताए ।
तत्कालीन अवस्थामा भएको माओवादी आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकमा शान्ति र स्थायित्व कायम गर्न गिरिजाप्रसाद कोइरालाको निर्णायक भुमिका रहेको निधिको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस सुनसरी सभापति केदार भण्डारी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोइराला, सिताराम मेहेता लगायतले आफ्नो विचार राखेका थिए ।