काठमाडौँ, असार । पार्टी महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्प आफूहरुले लिएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।
शनिबार पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, सबै नेता, कार्यकर्ताले एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको छाैँ ।
‘हामी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं । नेता, कार्यकर्ताहरु त्यही दिशामा अघि बढिरहनुभएको छ ।
तयारीको काम लगभग अन्तिम, अन्तिम चरणमा पुगेको छ । कम खर्चमा यो समारोहालाई भव्यताका साथ सम्पन्न गर्ने योजनामा छौं,’ उनले भने ।
अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा छलफल हुने भएकाले भेटघाट हुनु, छलफल हुनु स्वाभाविक भएको बताए । पार्टीमा गुटबन्दी नहोस् भन्ने कुरामा आफूहरू सचेत रहेको उनले बताए ।