२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 पूर्वमा भारी वर्षा  : '  विराटनगर जलमग्न, जनजीवन प्रभावित'

बुधवार , आषाढ १३, २०८१

 

विराटनगर, असार  । मंगलबार रातिबाट सुरु भएको भारी वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । डुबानका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । 

पछिल्लो ७ घण्टा विराटनगरमा लगातार भारी वर्षा भएको थियो । पानीको निकास नहुँदा सहर र नगरका ग्रामीण क्षेत्रमा पानी जमेको छ । 

बस्ती क्षेत्रमा जमेको पानीले पक्का घरभित्र पानी पसेको छ भने खोलाको सतह बढ्दा खोला किनारका बस्तीहरु जोखिममा परेका छन् । 

बजार क्षेत्रका अधिकांश बाटोमा पानी भरिएका कारण हिंडडुल गर्न समस्या भएको छ भने कच्ची घरहरुमा पानी पसेर सर्वसाधारण समस्यामा परेका छन् । 

वर्षाको कारण केसलिया खोलाको बाढी विराटनगर १२ को बखरी, दरैया, बराहाटोल, मलौना, सिमराहीका दुई दर्जन घर डुबानमा परेका छन् । 

केसलिया खोला भरिएर पानी बस्तीमा पसेका कारण दक्षिण पश्चिममा रहेको केही बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । खोलाको बाढी बस्तीमा पसेपछि स्थानीहरु त्रासमा परेका छन् । 

लगातारको वर्षाका कारण खोलाहरुमा आएको बाढीले विराटनगरका ४, ५, ६, ८, १२, १५, १६, १७, १८ का केही बस्तीका घरहरु डुबानमा परेको मोरङ प्रहरीले जनाएको छ ।   

विराटनगरमा डुबानको समस्या देखिए पनि अहिलेसम्म कुनै मानवीय क्षति भएको सूचना नआएको प्रहरीले जनाएको छ । प्रहरी,  स्थानीय युवाहरु जनप्रतिनिधिहरु डुबानबाट प्रभावितहरुलाई सहयोग गर्न विभिन्न ठाउँमा खटिएका छन् । 

विराटनगर महानगरपालिकाके विपद् प्रतिकार्य टोली बिहानैदेखि बन्द भएको नाला तथा पैनी खोल्न विभिन्न वडामा जेसिभी लिएर पुगिरहेको जनाएको छ ।  

विराटनगरको मुख्य बजार क्षेत्रमा पर्ने मुनालपथ, भृकुटी चोक, नेपाल आयल निगम क्षेत्र, दुग्ध विकास संस्थानको आयोजनास्थल जलमग्न बनेका छन् । 

तीन चार घण्टा वर्षा रोकिएमा अधिकांश डुबान क्षेत्रको पानी कम भई केही सहज अवस्था आउने अधिकृत पुनम दाहालले जानकारी दिएकी छन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार