२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

रातभर अविरल बर्षा 

कास्कीमा पहिरो  :   ' पुरिएर दुई बालबालिकाको मृत्यु , पृथ्वी राजमार्ग भासियो '

बुधवार , आषाढ १३, २०८१

 

गन्डकी , असार । आज रातभर भएको अविरल वर्षाले पहिरो जाँदा घर पुर्दा कास्कीमा बुधबार एक बालक र एक बालिकाको निधन भएको छ । एक महिला गम्भीर घाइते भएकी छन् । 

बिहान ०२ : १५ बजे कास्कीको मादी गाँउपालिका-५ चितेपानी घुम्तीस्थित प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घर माटोको ढिस्को खसेर पुरिँदा १३ वर्षीया आयुष्मा रानाभाटको निधन भएको हो ।

घरमा ७० वर्षीया हजुरआमा लालमाया बञ्जारी र उनी मात्रै सुतेको अवस्थामा पहिरो खसेको स्थानीयले जानकारी दिएका छन । 

पहिरोले घर पुरिएको सूचना प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय सिसुवाबाट प्रहरी टोली खटिएर उद्धार कार्य गरेको कास्की प्रहरीले जनाएको छ । 

लालमायाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कास्कीले जनाउको छ ।  बिहान ३ बजे पोखरा महानगरपालिका-२७ आरूपाटामा हरि सुनारको ढुंगा माटोले बनेको २ कोठाको कच्ची घर पहिरोले पुरिँदा उनको छोरा ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको छ ।

हरिकी श्रीमती २७ वर्षीय रितु सुनार गम्भीर घाइते भएकी छन् । 'उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ, अवस्था सिरीयस रहेको छ,'  कास्की प्रहरीले बताएको छ । । 

 प्रहरीका अनुसार, हरि र उनकी छोरी ९ वर्षीया अञ्जली सुनारको सकुसल उद्धार गरिएको र घरमा पूर्ण रूपमा क्षति पुगेको छ । 


पृथ्वी राजमार्ग सडक खण्ड भासियो
अविरल वर्षापछि बिहान ६ :३० बजे पोखरा महानगरपालिका वडा(१४ चाउथे आनन्द टोलस्थित घट्टेकुलोमा पानीको बहाव बढ्दा पृथ्वी राजमार्ग सडक खण्ड भासिएको हो । 

झन्डै ५ मिटर लम्बाइ र १.५ मिटर चौडाइ सडक घट्टेकुलोको पानीले काटेको छ । उक्त स्थानदेखि १० मिटर अगाडि सडक खण्डमा अर्कोतर्फको ७ मिटर लम्बाइ र १ मिटर चौडाइ भासिएर खसेको छ । हाल सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको र अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

पाँच घर डुबानमा

बिहान ६ : ३० बजे पोखरा-७ गैरीखेतमा दुई घर डुबानमा परेको छ । स्थानीय कुमार सुनार र रेशम गुरूङको घरमा डुबानमा परेको हो । डुबानले जनजीवन प्रभावित पारेको छ । उक्त घरमा प्रहरीले मोटरद्वारा पानी तानेर उद्धार कार्य गरिहेको छ ।

बिहान ३ बजे पोखरा-३३ बागमारास्थित सिप्लिङतारा टोलमा अविरल बर्षा पछि तीन घर डुबानमा परेको छ ।  स्थानीय राम्जी बास्तोला, सुमन विक र बाबुराम बस्नेतको घर डुबानमा परेको हो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार