२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

बुधवार , जेठ १६, २०८१

 

कालापत्थर (सोलुखुम्बु),  जेठ । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच हजार  ६४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । 

सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो ।

नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र  अमेरिकाकी  रेस्लर  डानियल मोरिसन (डानी मो) बीच सम्पन्न मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालकी भगवती  खड्का विजयी भइन् ।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन्  । 

हास्य कलाकारको प्रस्तुतिसहित हास्य कलाकार शिव शङ्कर रिजाल (जोगिन्दार पानवाला) ले प्रतियोगिताको कार्यक्रम सञ्चालन गरेका थिए । 

मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार