काठमाडौँ, जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर संसद बैठकमा नाराबाजी गरिरहेको नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको हो
मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेसका सांसदहरूले सत्ताले संसदलाई ब्यारेक बनाएको बताएका हुन् ।
उनीहरूले संसदलाई ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा बैठक सञ्चालन गरेको पनि बताएका छन् ।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संसदमा बल प्रयोग गरेर लोकतन्त्रका मूलभूत मूल्य र मान्यतामाथि प्रहार गरिएको बताए । उनले सत्तापक्षबाट संविधान र संघीय शासन प्रणालीमाथि नै धावा बोल्ने काम भएको जिकिर गरे ।
उनले प्रतिपक्ष दलको अवरोध भइरहँदा संसद बैठक सञ्चालन हुनु भत्र्सनायोग्य भएको भन्दै सरकारको यस कदमको प्रतिरोध गरिने बताउनु भयो । उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन भएको प्रस्ताव संसदमा नआएसम्म आफूहरूको अवरोध जारी रहने पनि बताए ।
सांसद पाण्डेले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० संसदबाट फिर्ता लिनुको आशय दलहरू फुटाउनलाई सहजता प्रदान गर्नु रहेको बताए ।
उनले भने, ‘राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिनुको आशय दलहरू फुटाउनलाई सहजता दिनेगरी त्यो विधेयक फिर्ता गरिएको छ ।
यसबाट के बुझिन्छ भने नयाँ आएका राजनीतिक दलहरू राजनीतिक स्थिरता, सुशासन चाहान्छौँ भन्नेकुराबाट व्यक्तिगत रुपमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी स्वतः च्युत भएको छ । यो कुराले उनहरूको नियत के हो भन्नेकुरा पनि छर्लङ्ग भएको छ ।’
नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सभामुखले संसदलाई ब्यारेकजस्तो बनाएर आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती बैठक सञ्चालन गरेको बताए ।
उनले संसदीय छानबिन समिति बनाउने कुरामा अलमल गरेर एमाले अध्यक्ष केपी ओलीले खेल खेलिरहेको बताए । उनले अवरोधका बीच संसद बैठक चलाउनुले संसदीय परम्परामाथि कालो धब्बा लागेको पनि बताए ।
उनले भने, ‘संसद होइन ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा, संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती सञ्चालन गर्न खोज्नुभएको छ । यो राम्रो बाटोमा गइराखेको छैन ।
हामी संसदीय समिति नबनेसम्म संसदलाई अगाडी जान दिने स्थितिमा छैनौँ । समिति बनाउने कुरामा, टिओआर बनाउने कुरामा अलमल गरेर केपी ओलीजीको पनि आफ्नो खेल छ ।
सरकार आफ्नो ढंगले अगाडि बढिरहेको छ । हामीलाई के लागिराखेको छ संसदीय परम्परामाथि नै कालो धब्बाको रुपमा उनहरूले सदनलाई लिएर गइराख्नुभएको छ, यो दुर्भाग्यपूर्ण छ ।’
नेपाली कांग्रेसकै सांसद रामहरी खतिवडाले संसद बैठकमा सभामुखको कामप्रति नेपाली कांग्रेसको विरोध रहेको बताए । उनले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिएर अध्यादेश ल्याइ पार्टीहरू फुटाउनेतिर लाग्न लागेको आरोप लगाए ।
उनले भने, ‘नयाँ पार्टी भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षले संसदमा आएको विधेयक फिर्ता गर्नुभयो । यो आपत्तिजनक छ । अब अध्यादेशबाट ल्याएर उनहरू पार्टी फुटाउनेतिर लाग्दै हुनुहुन्छ । यो घोर आपत्तिजनक छ । सभामुखको कामप्रति नै हाम्रो विरोध थियो ।’
नेपाली कांग्रेसकी सांसद कल्पना चौधरीले संसद बैठकस्थलमा मर्यादापालकहरूले सांसदहरूलाई अमर्यादित व्यवहार गरेका बताइन् । उनले मर्यादापालकहरूको संख्या बढाएर कांग्रेसका सांसदहरूमाथि आक्रमण गर्न लगाइएको बताइन् । उनले प्रधानमन्त्री स्वयं आफूहरूमाथि जाइलाग्न खोजेको आरोप पनि लगाइन् ।
उनले भनिन्, ‘मर्यादापालकहरू मर्यादामा रहेर सुरक्षा गर्ने न हो । तर मर्यादापालकहरूलाई प्रयोग गरेर, संख्या बढाएर हामीमाथि आक्रमण गर्न लगाएको छ । मलाई घाइते बनाएको छ । प्रमाण हेर्नुस् (आफ्नो हात देखाउँदै ) । प्रधानमन्त्री आफैँ सिधै जाइलाग्न खोज्ने जस्तो पनि गर्नुभयो । मर्यादापालकहरूलाई अगाडि राखेर हामीमाथि प्रहार भयो । हामीमाथि अत्याचार भइराखेको छ ।
जनताको आवाजलाई लिएर, जनताको न्यायको लागि हामी अगाडि बढ्दाखेरी हामीलाई दबाउने काम गरिएको छ । हाम्रो घाँटीमा निमोठ्ने काम गरिएको छ । तर हामी पछाडी पर्दैनौँ । दमन गरिराखेको छ ।’
नेपाली कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगि प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने बताएका छन् ।