२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा बैठक 

 प्रचण्डले  विपक्षको वेल घेराउबीच चौथो पटक लिए  विश्वासको मत

सोमवार , जेठ ७, २०८१

 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथो पटक विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसको अवरोधबीच उनले विश्वासको मत लिएका हुन् । 

कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत बैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको थियो ।

नाराबाजीकै बीचमा सभामुखले बैठक अगाडि बढाएर विश्वासको मत लिइएको थियो । प्रधानमन्त्री प्रचण्डले विपक्षीले संसद अवरुद्ध गरेको भन्दै यसको मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् ।

यो संसदीय इतिहासमा अनौठो नजिर स्थापित भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । 

उनले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै आएको बताए । छानबिन समिति नबनाएसम्म कांग्रेसले संसदको अवरोध नहटाउने बताए । 

प्रधानमन्त्रीले प्रतिकुल समयबीच जबरजस्ती विश्वासको मत लिएको भन्दै यसले लोकतन्त्रलाई नै झन् कमजोर बनाएको दाबी गरे । 

विश्वासको मत माथिको प्रस्तावमा मतदान प्रक्रियामा १५८ सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावमा १५७ मत परेको थियो । 

जसमा एमाले, माओवादी, रास्वपा, जनमत, जसपा र नाउपाका सांसदहरुले पक्षमा मत दिएका थिए । 

प्रस्तावमा मत दिन्न भन्ने पक्षमा एक मत परेको थियो । अन्य दलले भने विश्वासको मतको मतदानको प्रक्रियामा भाग लिएका थिएनन् ।     

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको यो चौथो पटक हो । यसअघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए ।

 त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।

त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए ।

त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरि गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । 

त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो ।  

यसअघि सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति गठन र कारबाहीको माग गर्दै कांग्रेसले संसद अवरुद्ध गरेको थियो । 

यता माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले कांग्रेसले विरोध गरेकाले त्यसको जवाफ प्रधानमन्त्रीले दिएको र यो संवैधानिक प्रक्रियाअनुसार नै विश्वासको मत लिएको बताए । 

उनले प्रधानमन्त्रीले विश्वासको मत लिँदा विपक्षीले अवरोध गर्नु गलत भएको बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार